आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

 

 

काठमाण्डौं ८ भदौं । मानववादी विश्वदर्शनका प्रवर्तक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्म जयन्ती विभिन्न  कार्यक्रमहरू गरी मनाइएको छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंह विश्वविख्यात नेपाली सपुत हुन् । उनी बाँचुन्जेल राणाशाही र राजशाही सत्ताको कोपभाजनमा परिरहे । जयपृथ्वी नेपालमा  सक्रिय  राजतन्त्रको अन्त्य भएको साढे तीन दशक लामो समयसम्म पनि उनी ओझेलमा पारिएका थिए । यही २०७९ असारमा बल्ल नेपाल सरकारले जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । अन्तर्राष्ट्रिय विभूति बनिसक्नुपर्ने जयपृथ्वीलाई ढिलै भए पनि नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ । तिनै मानववादी दर्शनका प्रवर्तक जयपृथ्वीको जन्म जयन्तीका सन्दर्भमा हिजो भदौ ७ गते विभिन्न कार्यक्रम  गरी उनलाई सम्झिइएको हो । जयपृथ्वी नेपाली पाठ्यपुस्तक, बालसाहित्य आदिका प्रथम लेखकसमेत हुन् । आम नागरिकका लागि शिक्षाको व्यवस्था गरिनुपर्छ भन्ने उद्देश्यका साथ सत्यवादी पाठशालाका संस्थापक, गोरखापत्रका प्रथम व्यवस्थापक जयपृथ्वी जनवादी राजा हुन् भन्दा पनि अत्युक्ति हुँदैन ।

नेपाल बालसाहित्य समाजको आयोजना एवं मानववादी समाज, नेपाल (सोच नेपाल) र ह्युमजिन्म एन्ड जयपृथ्वी फाउन्डेसनको संयुक्त सहआयोजनामा विभिन्न  कार्यक्रम साथ जयन्ती मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न  कार्यक्रममा मानववादी दर्शनका जानकार, अभियन्ता, साहित्य तथा बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो । विगत ४ वर्षदेखि जयपृथ्वीको सम्मानमा  कार्यक्रम गर्दै आएको नेपाल बालसाहित्य समाजले यस वर्ष पनि   कार्यक्रमलाई निरन्तरता दिएको हो ।

 

 

 

कार्यक्रममा बालसाहित्यका वरिष्ठ सर्जकहरू शान्तदास मानन्धर र भिक्टर प्रधानलाई ‘नेबासास–जयपृथ्वी सम्मान’ प्रदान गरिएको थियो भने दुई बालिका बालसाहित्यतर्फको नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार र दुई बालिका कलातर्फको ‘नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार’बाट पुरस्कृत भएका थिए ।
कार्यक्रममा मानववादी अभियानका अभियन्तासमेत रहेका बालसाहित्यकार रामदेव पाण्डेले अवधारणापत्र प्रस्तुत गरेका थिए । “राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र वर्तमान विश्वपरिवेशमा विश्व आस्था मैत्री सङ्घको महत्त्व” विषयक अवधारणापत्रमाथि विभिन्न व्यक्तिहरूले टिप्पणी गरेका थिए । यसै  कार्यक्रममा ह्युमनिज्म एन्ड जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मिनबहादुर सिंहले सङ्कलन गरेको सामग्रीलाई रामदेव पाण्डेले सम्पादन गरी प्रकाशित जयपृथ्वीबहादुर सिंहको जीवनी पुस्तकको लोकार्पण गरिएको थियो । अन्तर्राष्ट्रिय मानववादी सङ्गठनका अन्तर्राष्ट्रिय सदस्य एवं सोच नेपालका संस्थापक उत्तम निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए । नेपाल बालसाहित्य समाजका उपाध्यक्ष बालसाहित्यकार प्रमोद प्रधानको सञ्चालनमा अध्यक्ष प्राडा ध्रुव घिमिरेले अध्यक्षता गरेको  कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ रहेका थिए । अतिथिलाई नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गरेकी थिइन् ।


यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शन विभागले पनि एक कार्यव्रmम गरी जयपृथ्वी जयन्ती मनाएको छ । विभागका प्रमुख प्रा.डा जगत उपाध्यायको अध्यक्षतामा सम्पन्न अन्तर्क्रियात्मक  कार्यक्रममा दर्शन शास्त्रका अध्येता प्रेमबहादुर धामीले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘जयपृथ्वीबहादुर सिंह र मानववाद” विषयक कार्यपत्रमाथि विभिन्न विद्वानहरूले टिप्पणी गरेका थिए । यसरी नै जयपृथ्वीको जन्म जिल्ला बझाङमा पनि विभिन्न   कार्यक्रमका साथ जयपृथ्वी जयन्ती मनाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend