आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओलीले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै दिए यस्तो चेतावनी

एमाले अध्यक्ष ओलीले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै दिए यस्तो चेतावनी

फाइल फोटो

काठमाण्डौं २७ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिएका छन ।

वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो । सोमबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए ।

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने ओलीको भनाइ थियो । उनले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गरे । उनले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दाबी समेत गरे । उनले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताए ।

अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाए । उनले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend