आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भिजिट भिसामा थप कडाइ

भिजिट भिसामा थप कडाइ

 

काठमाडौं १९ फागुन । भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो।

भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ।

चप्पल लगाएर पनि भिजिटका नाममा विदेशमा गई बिचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता एवं कार्यदल संयोजक फणीन्द्रमणि पोखरेलले बताए। ‘जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कडाइ हुन्छ’, प्रवक्ता पोखरेलले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यागमन विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै कार्यविधि बनाउने भएका छन्।

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ। वैदेशिक रोजगारमा श्रमस्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो। वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ। अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend