शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ

एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ

 

 

काठमाडौं १५ पुस । नेकपा एमालेका नेता विशाल भट्टराईले पत्रकार ऋषि धमलाको प्रश्न भुँइमा खस्न नपाउँदै कडा जवाफ दिएका छन । उनले प्रचण्डको प्रवृत्ति नसच्चिएसम्म माओवादी केन्द्रमा पहिरो रोक्न नसकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “नेकपा (माओवादी केन्द्र) मा ३५ वर्षदेखि लगातार एउटै व्यक्ति नेतृत्व छ । प्रचण्डलाई चुनौती दिन खोज्ने नेता कार्यकर्ता बहिष्करणमा पर्दै आएका छन् । हामीले नारायणकाजी श्रेष्ठलाई मन खुम्च्याएर बसेको देखिरहेकै छौं । प्रचण्डले कागजी रुपमा आकर्षक कुरा गरेर अलमलाउँदै आउनुभएको छ । अब लामो समयसम्म ढाँट्न सकिँदैन । प्रचण्डको प्रवृत्ति सप्रेन भने माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन ।”
संवैधानिक बाध्यताका कारण माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलेको उनले बताए । उनले भने, “माओवादीमा नेतृत्व परिवर्तन, महाधिवेशन भन्ने अहिलेसम्म देखिएको थिएन । काग्रेसले पनि संवैधानिक बाध्यताका कारण म्याद थप्दै गएर बल्ल महाधिवेशन गरेको छ ।”
अन्य बुर्जुवा पार्टीलाई उछिनेर माओवादी नेताहरुले विलासी जीवन बिताइरहेको एमाले नेता भट्टराईको आरोप छ । उनले थपे, “जनयुद्धको धारबाट आएको कम्युनिस्ट पार्टीमा व्यक्ति मोटाउने, पार्टी कमजोर हुने अवस्था छ । म खोटाङमा ४६ दिन माओवादी अपहरणमा परेको थिएँ । त्यतिबेला पनि तडकभडक थियो । खुला भएर आउँदा पनि बुर्जुवा पार्टीलाई उछिनेर महँगा घर, गाडी उनीहरुकै छन् । सर्वहारा र कम्युनिस्टका नाममा सरकारी र निजी स्रोत र साधान कब्जा गर्ने व्यापारी र निर्माण व्यवसायीसँग चन्दा उठाएर व्यक्ति मोटाउँदै गएका छन् ।”
एमालेका कार्यकर्ता जनतासँग नङ(मासुजस्तो सम्बन्ध कायम गरेर बसेको उनको दाबी छ । उनले भने, “अनावश्यक स्रोत साधन लिएका छैनन् । जनतासँग सम्बन्ध सुमधुर छ । आफूलाई जनताभन्दा धेरै माथि देखाउने र तडकभडक देखाउने पार्टीले यसरी माओवादीले जनताको मन जित्न सक्दैन ।”

उनले माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द नभएको बताए । उनले भने, “राजनीतिमा असम्भव केही छैन । तर एक चुनावमा कडा प्रतिस्पर्धा नभई सहकार्य हुने देख्दिनँ । किनभने प्रचण्डलाई नेतृत्व नभई हुँदैन । सबथोक उहाँलाई नै चाहिन्छ । नेकपाको एकता बच्न नसक्नुको कारक उहाँ नै हो । उहाँको बाटो उल्टो छ । तत्काल सहकार्य सम्भावना छैन ।”
एमाले नेता भट्टराईले नेकपा एमालेको मुद्दाको सम्बोधन भए एक मिनेट पनि संसद् अवरोध नहुने बताए । उनले थपे, “हामी आफैंलाई भएको अन्यायको विरुद्ध लडेका हौं । रहर लागेर संसद् अवरोध गरेका होइनौं । तर चुपचाप लुरुलुरु संसदमा जान सक्दैनौं । त्यसमा प्रधानमन्त्री र सभामुखले अग्रसरता लिनुपर्यो ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend