काठमाडौं २९ मंसिर । नेपाली काँग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग सहकार्य हुने तर देउवाले पार्टी हित विपरित काम गरेमा आफूहरुलेले संघर्ष गर्ने बताए ।
उनले १४ औं महाधिवेशन अघि अलग विचार समूहबाट प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेको उल्लेख गरे । थापाले देउवा आफूहरु सबैको सभापति भएको बताए ।
उनले नेकपा एमालेको चितवनमा भएको महाधिवेशन ओलीवेशन मात्रै भएको दाबी गर्दै कांग्रेसमा देशको बहालवाला प्रधानमन्त्री देउवा समेत मत माग्न सडकमा आएको भन्दै त्यसैले पनि कांग्रेस पार्टीको यो अधिवेशन भएको बताए ।
थापाले भने, “देउवाले हरेक मतदातासँग मत माग्नुभयो । ’उहाँको मनमा हार्छु भनेर डर रहेछ नि उहाँले रातिसम्म हरेक मतदातासँग मत माग्नुभयो । एक जना पनि छाड्नुभएन ।’ सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको भन्दै थापाले आफू पनि शेखर कोइरालाको छेउमा बसेर त्यो बेला महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेको उल्लेख गरे ।
आफूले देउवालाई सभापतिमा भोट नदिएको पनि थापाको भनाई थियो । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा कांग्रेस सभापतिमा डा शेखर कोइरालालाई पराजित गर्दै देउवा विजयी भएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend