काठमाण्डौं, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) पर्साका चार नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्षसहित चार जसपा नेताहरू एमाले प्रवेश गरेका हुन् ।
जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया, धामु शर्मा, सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अजोध्या कुर्मी एमाले प्रवेश गरेका हुन् ।
ओली निवास बालकोटमा नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गरेका थिए । संविधानसभाका सदस्य एवं पर्सा सहइन्चार्ज राजकुमार गुप्ताको पहलमा नेताहरू एमाले प्रवेश गरेका हुन् ।
सो अवसरमा केन्द्रीय सदस्य निर्मला देवकोटा, पकाहामैनपुर पालिका कमिटी अध्यक्ष अकलेश साह, युवा संघ सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम, पालिका कमिटी सचिव राजेश सहनी, ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल, युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, आउँदो पुस ८ गते एमाले अध्यक्ष ओली पर्सा जिल्ला जादै छन् । विभिन्न राजनीतिक दल परित्याग गरेकाहरूलाई एमालेमा प्रवेश गराउन ओली पर्सा जान लागेका हुन् ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ अहिलेसम्म एमालेमा प्रवेश गर्नेहरूको लिस्टमा चर्चित नाम हो । गाउँपालिकाका अध्यक्षसमेत रहेका जालिमसँगै सयौँको संख्यामा पार्टी प्रवेश हुन लागेको बताइएको छ । मियाँ स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend