शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी महासचिवमा यी नेताहरुको यस्तो दाबी

माओवादी महासचिवमा यी नेताहरुको यस्तो दाबी

 

काठमाडौं २२ मंसिर। नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसको दोस्रो साता हुने भएको छ । ३२ वर्षदेखि माओवादी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसपटक पनि उनी नै दोहोरिने निश्चित छ ।

माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म नदेखिएको नेताहरुले बताएका छन् । प्रचण्डलाई चुनौती दिनसक्ने नेताका रुपमा रहेका मोहन वैद्य, डा बाबुराम भट्टराईले माओवादी छाडेपछि अहिलेको अवस्थामा अध्यक्षका एकल दाबेदार उनी नै रहेको नेताहरु बताउँछन् ।

प्रचण्ड अध्यक्षमा दोहोरिने निश्चत भए पनि पदाधिकारीका अन्य पदमा प्रतिष्पर्धा हुने देखिएको छ । अहिले नै माओवादी केन्द्रको पदाधिकारीको संख्या कति हुन्छ भन्ने यकिन भइसकेको छैन । तर उपाध्यक्ष एकभन्दा बढी हुने सम्भावना छ । अहिले माओवादी केन्द्रमा प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ छन् । माओवादीमा अब प्रचण्डपछिको नेता को बन्ने भन्ने चर्चा छ ।

यतिबेला माओवादीभित्र नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको ‘पोजिसन’ के होला भन्ने चासो छ । पटक–पटक मन्त्री भइसकेका पूर्वसभामुख कृष्णबहादुर महरा यतिबेला पार्टी प्रवक्ताको भूमिकामा छन् । युद्धकालीन समयदेखि नै प्रचण्ड निकट रहेका महरा माओवादीमा सबैभन्दा बढी पार्टीको लाभका पद ‘हत्याउने’ नेतामा पर्दछन् ।

युद्धबाट शान्ति प्रक्रियामा आएपछि नारायणकाजी अर्को पार्टीबाट माओवादीमा भित्रिएका हुन् । यसअघि उनी माओवादी केन्द्रको उपाध्यक्ष पनि रहिसकेका छन् । तर अब उनी वरिष्ठ उपाध्यक्ष हुन्छन् वा प्रचण्डले महरालाई वरिष्ठ उपाध्यक्ष बनाउँछन् यकिन छैन ।

माओवादी राजनीतिमा महराको छुट्टै स्थान भए पनि श्रेष्ठलाई पार्टीभित्रै नेताहरुको साथ त्यति नरहेको एक नेताले   बताए । माओवादीकै नेताहरु श्रेष्ठले पार्टीभित्र आफूनिकटलाई मन्त्री बनाउन र आफू दोस्रो वरीयतामा रहिरहन बार्गेनिङ गर्दै आएका छन् ।

श्रेष्ठलाई उनीसँगै उनको पार्टीबाट आएका नेताहरुको मात्रै साथ छ । यस्तोमा महराले वरिष्ठ उपाध्यक्षमा दाबी गरे श्रेष्ठको व्यवस्थापन प्रचण्डका लागि चुनौतीपूर्ण बन्नसक्छ । तर माओवादी केन्द्रका एक नेता भन्छन्– “नारायणकाजीलाई वरिष्ठ नेता बनाएर महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन सकिन्छ । यसो भएमा समस्याको हल निस्कन सक्छ ।”

तर श्रेष्ठ आफू वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना नआए उनले आफ्नो समुहबाट पदाधिकारीमा लिलामणि पोखरेललाई अगाडि सार्न सक्छन् । पछिल्लो समय पार्टीभित्र महरा भने सक्रिय देखिन्छन् । महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रचण्डसमेत सकारात्मक रहेको नेताहरु बताउँछन् ।
बाह्रखरीबाट साभार

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend