काठमाण्डौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी खोज्ने आन्तरिक बहस भइरहेका बेला प्रवक्ता कृष्ण बहादुर महराले भने अर्कै तयारी थालेको बुझिएको छ । पार्टीमा जनार्दन शर्मा र बर्षमान पुनबीच आन्तरिक टकराव आएका बेला महराले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा भित्र्याउन तयारी भइरहेको खुलेको हो ।
केही दिनअघि कैलालीमा पार्टीनिकट एक जनवर्गीय संगठनको कार्यक्रममा विप्लवले माओवादी केन्द्रसँग एकता हुनसक्ने संकेत गरेका छन् । विप्लवको त्यो संकेत त्यसै आएको भने होइन । जानकारहरु भन्छन्, “कृष्णबहादुर महराले विप्लवलाई महासचिव बनाएर माओवादी भित्र्याउन खोज्दैछन् । यसका लागि उनी सक्रिय छन् । प्रचण्डसँग पनि उनले यसबारे व्रिफिङ गरेका छन् ।”
विप्लव महासचिव बनाउँदा वर्षमान र जनार्दन कमजोर हुने विश्लेषण माओवादी भित्र छ । जसले महरालाई फाइदा पु¥याउने छ । विप्लव र महराको मित्रता पुरानै हो । युद्धकालदेखि नै महरा–विप्लव सम्बन्ध मित्रतापूर्ण थियो ।
माओवादीकै नेताहरु विप्लव महासचिव बन्ने अवस्था आए वर्षमान र जनार्दन एकठाउँमा उभिन सक्ने टिप्पणी गर्छन् । विप्लवको उदय रोक्नका लागि दुई नेताहरु एकै ठाउँमा उभिन सक्ने सम्भावना उनीहरु देख्छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend