१४ पुष,बाग्लुङ । आज पौष १४ गते बिहान १० बजे आदिवासी जनजाति क्लस्टर अन्तर्गत सम्पन्न मतदान प्रक्रिया औपचारिक रूपमा सकिएको छ। मतदान सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङका आदिवासी जनजाति क्लस्टर उम्मेदवार टेक बहादुर पुन (मगर) ले देश–विदेशबाट मतदान गर्ने तथा लाइक, कमेन्ट र सेयरमार्फत सहयोग गर्ने सम्पूर्ण न्यायप्रेमी नागरिकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।
पुनले देशभित्र र विदेशमा रहनुभएका आमा, बाबु, दाजुभाइ तथा दिदीबहिनीहरूको मत, साथ र आशीर्वाद कहिल्यै खेर नजाने विश्वास व्यक्त गर्दै ‘जय घण्टी’को उद्घोष गर्नुभएको छ। उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्ने सबै मतदातालाई सम्मान र कृतज्ञता व्यक्त गर्नुभएको हो।
विशेष रूपमा प्रारम्भिक उम्मेदवार चयन प्रक्रियामा बाग्लुङ जिल्लाबाट सर्वसम्मत रूपमा एकल उम्मेदवार बनाउने साहसिक निर्णय गर्ने पार्टी नेतृत्वप्रति पनि पुनले आभार प्रकट गर्नुभएको छ। उहाँले जिल्ला सभापति महेन्द्र खड्का, जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, जिल्ला सचिव बबिन नेपाल, सहसचिव नारायण दत्त शर्मा, गण्डकी प्रदेश संगठन विभाग सदस्य तथा जिल्ला सचिवालय प्रमुख खिमानन्द पौडेल, जिल्ला कोषाध्यक्ष डुकु मल्ल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा लगायत सम्पूर्ण रास्वपा बाग्लुङ जिल्ला कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिनुभएको छ।
त्यसैगरी, बाग्लुङका चारवटै नगरपालिकाका नगर प्रमुखहरू र छवटै गाउँपालिकाका प्रमुखहरूप्रति पनि पुनले हृदयदेखि सम्मान र नमन व्यक्त गर्नुभएको छ। उहाँले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै सबैले सकारात्मक आशा राख्न आग्रह गर्नुभएको छ।
टेक बहादुर पुन राष्ट्रिय स्वतन्त्र पार्टी बाग्लुङ जिल्ला कार्यसमिति सदस्य समेत हुनुहुन्छ। उहाँ गल्कोट नगरपालिका–१०, पाण्डखानी निवासी हुनुहुन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend