आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

धनदौलतले निष्ठा किन्न पाइँदैनः प्रधानन्यायाधीश राउत

धनदौलतले निष्ठा किन्न पाइँदैनः प्रधानन्यायाधीश राउत

८ पुष, ललितपुर। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले यथार्थ कुरा नबुझी सार्वजनिक स्थलमा अदालतका विषयमा कानुन व्यवसायीले गलत टिप्पणी गरेर जनमानसमा भ्रम फैल्याउन हुँदैन भन्दै गरिमा कायम गर्न ध्यान दिन आग्रह गरेका छन । ‘सामाजिक रूपान्तरण र समृद्धिस् न्यायपालिका र बारको जनआस्थामा अभिवृद्धि’ नाराका साथ बार दिवस–२०८२ को उपलक्ष्यमा काठमाडौँ उपत्यकाका बार एसोसिएसनद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन । बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायालयप्रति जनआस्था कायम हुने उनको भनाई छ ।

“पदमा रहेका व्यक्तिले जिम्मेवारपूर्वक धारणा राख्नु पर्छ, कानुन व्यवसायीले गलत धारणाका आधारमा प्रभावित पार्ने कार्य गर्नु उचित हुँदैन, न्यायपरिषद् र संवैधानिक इजलासको संरचना प्रधानन्यायाधीशले मात्रै केही गर्न सक्दैन, अदालतको जनआस्था भनेको अदालतको प्राण हो, यसका लागि विश्वास आर्जन गर्नुपर्छ,” उनले भने।

प्रधानन्यायाधीश राउतले प्रतिबद्ध भएर मात्रै परिणाम दिन सकिने भन्दै विश्वास जन्माउन परिणाम दिनैपर्ने बताए। “जनआस्था भनेको विश्वास हो, अहिले देशमा विश्वास धरमराएको छ, बार र बेञ्च मिलेर विश्वास र जनआस्था कायम राख्नुपर्छ, निष्ठापूर्वक काम गर्दा मात्रै विश्वास जन्मिन्छ”, उनले भने।

सामाजिक सञ्जालमा अदालतप्रति पचाउनै नसक्ने अभिव्यक्ति सार्वजनिक भएका छन् भन्दै प्रधानन्यायाधीश राउतले नेपाली समाजभित्रको विकृति, विसङ्गतिको सबै मिलेर समाधान गर्न आग्रह।

“जिम्मेवारीमा रहेको व्यक्तिले संयमता र बुद्धिपूर्ण निर्णय गर्नुपर्छ, एआई, सूचना प्रविधिको दुरुपयोग अदालतका लागि अत्यन्तै चुनौतीपूर्ण छ, सरकारमा बसेकालाई एआइको दुरुपयोगले पनि समस्या छ, अरूलाई पीडा दिएर रमाउने समाज छ, यसमा ध्यान दिनु आवश्यक छ, कानुन व्यवसायी पेसालाई मर्यादित बनाउने कुरामा बारले ध्यान दिनुपर्छ, अदालत र प्रधानन्यायाधीशले के गर्नुपर्छ भन्नुस्, निष्ठा डगमगाउँदा प्रतिष्ठाले कुनै काम गर्दैन, असल अभ्यास र सुकर्मले निष्ठा कायम हुन्छ, धनदौलतले निष्ठा किन्न पाइँदैन”, प्रधानन्यायाधीश राउतले भने।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले म जे गर्छु अरूले त्यो नगरोस् भन्ने धारणा राख्न नहुने भन्दै मिडियामा ठुलो फोटो आओस् र सबै मिडियामा आफू हाबी हुन पाउँ भनेर अराजक र उत्तेजक अभिव्यक्ति अधिवक्ताले दिनु उचित नहुने बताए।

उनले अदालत जोगाउने जिम्मेवारी न्यायपालिकाप्रति आस्था राख्नेहरूको भएको बताउँदै यसका लागि अधिवक्ताले ध्यान दिनुपर्नेमा जोड दिए।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कानुन व्यवसायीको साझा दायित्व रहेको बताइन्। उनले स्वतन्त्र न्यायपालिका र विधिको शासनका पक्षमा बारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै नेपाल बार लोकतन्त्रको स्थायी पक्षधर रहेको उल्लेख गरिन्।

उनले कानुनको शासन हामी सबैको साझा दायित्व हो भन्दै सरकारी वकिल र कानुन व्यवसायीबिचको आपसी सम्मानका आधारमा विधिको शासन स्थापित गर्न सहज हुने धारणा राखिन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend