सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गरिब जनता नहेर्ने कस्तो कम्यूनिष्ट सरकार ?

गरिब जनता नहेर्ने कस्तो कम्यूनिष्ट सरकार ?

मोतिराज खनाल । 

नेपाल घुम्न आउने विदेशी पाहँुनाहरुले यहाँको अन्तर्राष्ट्रिय विमानस्थल, बाटोका खाल्टाखुल्टी, यत्रतत्र छरिएका बिजुली र टेलिफोनका तार, अव्यवस्थित रूपमा बनाइएका सहरका घरहरु, बाटामा गाडीको जाम र विदेश जाने युवाको लर्को यो सबै हरी बिजोग देखेर पक्कै पनी यहाँ सरकार नै नभएको महसुस गर्दा हुन् । ती पाहँुनाहरुलाई वर्षमा दुई तीन पटक फेरिने सरकारबारे के थाहा सरकार हुदैमा बिकास हुने भए नेपालमा जति विकास अरू कुनै पनि देशमा हुदैनथ्यो कि ? नेपालमा बनेका सरकार जुन जोगी आए पनि कानै चिरेका भने जस्तै भएको छन् जनताका दुःख ज्यूकात्यू छन् ।
नेपाललाई स्वर्ग बनाउँछौ भन्ने कति आए ? देशको नाममा कति शपथ खाए ? ती शपथ लाग्ने भए अहिलेसम्म धेरैजसो नर्कमा पुगिसकेका हुन्थे मैले गर्छ’ भनेर कुर्लनेले नै देशलाई खोक्रो बनाएर जान्छ । जो चोर उसैको ठुलो सोर भने जस्तै काम नगर्ने अनि सतीले सरापेको देश भनेर उम्किन पाइन्छ ? विकास मोडल बारे अहिलेसम्म जनतासँग सल्लाह सुझाव लिएको थाहा छैन । विकासको ढाँचाका लागि देशका विद्वानहरुको समूहलाई बैठकमा डाकेर समृद्ध नेपालको खाका कोर्न सक्नेलाई राष्ट्रले सम्मान गर्नुका साथै पुरस्कारको व्यवस्था गर्ने हो भने सबैले आआफ्नो तरिकाले खाका कोर्ने थिए ।

राम्रो खाका अनुसार काम गर्दै जाने हो भने नेपाल बन्न धेरै समय लाग्ने थिएन । यहाँ त विद्वान्हरुको खोजी कसैले गर्दैन । विकास निर्माणबारे सुझाव माग्दा आफ्नो कमजोरी अरूले थाहा पाउलान् भन्ने डरले बुझ्ने र सुझाव लिने काम गरिँदैन । यस्ता पाराले देशको विकास कसरी होला ? हाम्रो देशमा उद्योग, कलकारखाना खुल्लान्, रोजगारी सिर्जना होला, बेरोजगार युवायुवतीले रोजगारी पाउलान् र समृद्धी आउला भन्ने कल्पना नगरे हुन्छ ।

शिक्षा, स्वास्थ्य, गाँस–बास–कपास गरिब जनताको पहुँच सम्म पुग्ला भन्ने आस गर्ने सबै आसमै बुढिने छन् । पहिले खाली खुट्टा हिँडने यी नेताहरुले सहरमा महल ठडाएपछि जनताबारे किन सोधखोज गर्थे । आसेपासे नालनाता कुटुम्ब र चाकरीबाजहरुलाई जागिर लगाइदिएर करोडौं पर्ने गाडी मा हिँड्दैमा विकास हुन्छ ? चुनावका बेला ज्यू हजुरका साथै यो गर्छ’ त्यो गर्छ’ भन्दै फेहरिस्ता टिप्ने अनि जितेपछि सिन्को नभाँच्ने काम हुँदै छ ।

राणा शासन, पञ्चायती व्यवस्था गणतन्त्र सबैमा जनताका दुःख उस्तै सत्तामा हँुदा सिन्को नभाँची अरुले काम गर्न नदिएको आरोप लगाउन लाज मान्दैनन् ।
काम गर्न नदिनेलाई कहिल्यै जनताको बिचमा उभ्याउने काम पनि गरिँदैन । उभ्याए त जनताले ठिक पर्दा हुन् । सेना, पुलिस, कर्मचारी प्रशासन शाखा, उपशाखा सबै सरकारकै मातहत हुन्छन् । काम गर्न दिएनन भन्दै हिँड्न लाज नहुने । काम नगर्नेलाई कारबाही गर्ने अधिकार उसमा छँदै छ तथापि भ्रष्टाचारी घुसखोरीहरुलाई कारबाही गर्न नसक्नु कसको कमजोरी होला ।
उनीहरुसँग गरिएको लेनदेनको भागबन्डाले रोक्ला अरु कारण छैन ।

नेपालका नेताहरुको सम्पत्ति जादु मन्तर गरे जस्तै बढिरहेको हुन्छ । यसबारे जानकारी जनताले पाउनुपर्छ । अझ अवैध रुपमा आर्जित सम्पत्ति ससुराली र नालनाताकोमा राखिएला ।
राजनितीक दलको खोल ओढेर गद्दारी गर्नेहरुलाई पनि यहाँ छुट छ । म यो दलको म ऊ दलको भन्दै चन्दा आतंकदेखि लुटतन्त्र चलाउने दलाल, शोषक, सामन्ति र पुँजीपति वर्गको संरक्षण गर्नेहरुले जनताको प्रतिनिधित्व गर्लान् भन्ने आस हराइसकेको छ ।

दिनका दिन युवायूवतीहरु विदेश पलायन हँुदै छन् । दैनिक हजारौं युवाहरुले पासपोर्ट बनाउँछन । नेपालमै बसेर केही गरौं, आफ्नै देशमा पसिना बगाऊँ भन्ने भावना हुदाहुँदै पनि बिदेसिनुपर्ने बाध्यता छ । यहाँ बस्दा राज्यले काम दिन सक्दैन । जागिर पाइँदैन, चम्चागिरी गर्न जानिदैन । के गरेर बस्ने भन्ने आम युवाहरुको भनाइ रहेको छ । देशका बलिया खम्बा होनहार युवाहरु विदेश गएपछि देश कसरी अगाडि बढ्न सक्छ र ? काम गर्ने जनशक्ति कोही कामका लागि कोही पढाइका विदेश अनि गाह्रो काम गर्न नसक्ने बुढापाकाले काम गरेर कसरी हुन्छ देशको विकास । भएका जग्गा जमिन बाँझै राखेर विदेश जानेको लर्को छ ।

विदेशबाट पठाएको पैसाले सहरबजारमा एउटा घडेरी जोड्यो भने के के न ग¥या जस्तो गर्छन् । आफ्नो पुर्खौली जग्गाजमिनको अवस्थाबारे पत्तै छैन । सरकारको त्यतातिर ध्यान जान सकेको छैन । नेपालमा उत्पादित वस्तुहरु प्रयोग गर्न प्रेरित गर्ने, उद्योग कलकारखाना खोल्ने, बेरोजगार युवालाई रोजगारी दिने, बाटोघाटो मठमन्दिर बनाउने, कृषिमा क्रान्ति ल्याउन युवा परिचालन नगरी कसरी सम्भव हुन्छ र ? यो कुरा सरकारले बुझ्न जरुरी देखिन्छ तर सरकारको गाडीले बाटो पहिल्याउन सकेको छैन ।

सेना पुलिसहरु पनि विकास निर्माणमा लगाउनु जरुरी देखिन्छ ।
आफ्नै देशमा केही गर्छ’ भन्ने जोस जाँगर भएका यूवाहरुलाई ऋण दिने काम गरे नगरेको निगरानी गर्ने यी सानातिना काम त गर्न सकिन्छ होला नि । छिटो भन्दा छिटो बेरोजगारी अन्त्य गर्ने बाटो अवलम्बन गर हैन भने विदेशबाट आएको रेमिट्यानसले देश धान्न कठिन हुनेछ । चाँडोभन्दा चाँडो गाउँ सुधार अभियान नचलाउने हो भने भयावह अवस्था आउने छ । श्री पशुपति नाथले सबैलाइ सद्बुद्धि प्रदान गरून् ।

लोकगायक, मोतिराज खनाल सितगंगा २ अर्घाखाँची

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend