सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गच्छदारको पराजयसँगै देउवालाई पार्टी भित्र ठूलै झड्का

गच्छदारको पराजयसँगै देउवालाई पार्टी भित्र ठूलै झड्का

 

राम प्रसाद रिजाल,

काठमाडौं । कांग्रेस नेता विजयकुमार गच्छदारको राजनीतिक यात्रा अवसान तर्फ उन्मुख भएको छ । ४० वर्षयता नेपालको राजनीतिक दाउपेचमा सक्रिय गच्छदार कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदका उम्मेद्वार थिए । शेर बहादुर प्यानलबाट उठेका उनलाई शेखर कोइराला प्यानलका धनराज गुरुङले मात्र २ मतले उछिन्दा कांग्रेसमा उनको राजनीति अवसान तर्फ उन्मुख भयो ।

ललिता निवास जग्गा प्रकरणका मुख्य नाइके भनेर परिचित पूर्वउपप्रधानमन्त्री समेत भइसकेका गच्छदारलाई महाधिवेशनमा गुरुङले २ मतले पराजय ब्यहोर्नुपर्यो । देउवा प्यानलका पूर्णबहादुर खड्का उपसभापतिमा निर्वाचित हुँदा देउवाका राइटहेण्ड भनेर परिचित गच्छदार पराजय भए । गच्छदारको पराजयसँगै देउवालाई पनि पार्टी भित्र ठूलै झड्का लागेको छ ।

बिहीबार बिहान घोषित मत गणना अनुसार गच्छदारले १९०६ मत पाउँदा धनराजले १९०८ मत पाए । २१२१ मत ल्याएर खड्का पहिलो भएका छन् । उपसभापतिमा ७ जनाको उम्मेद्वारी परेकोमा गच्छदार तेश्रो हुँदा चन्द्र भण्डारी चौथो भए । सुजता कोइराला, महेश आचार्य र दिब्यश्वरी शाह पनि पराजित भए ।

मत गणनामा शुरुवाती अग्रता बनाएका धनराज मध्यतिर कमजोर भए र गच्छदारसँग चर्को प्रतिष्पर्धा हुँदैगर्दा निर्वाचन समितिसँग मात्रै विस्वास नगरी धनराज मत गणनास्थल पुगेका थिए । सोहि बखत निर्वाचन समितिले मतपत्रको एक सयको बण्डल गणना गर्दा एक भोट गच्छदारको बढाई दिए । गच्छदारको ३३ मत आउँदा समितिका सदस्यले ३४ भनेर टिपिदिए । तर, धनराजले प्रतिाद गरेपछि गच्छदारको पनि ३३ नै बनाइयो ।

आफुलाई आएको मतप्रति शुरुदेखि नै निर्वाचन समिति सकारात्मक नदेखिनु, गच्छदारले सुनसरी क्षेत्र नं। ३ मा भगवती चौधरीलाई २÷२ पटक हराउँदा गरेको सड्यन्त्रबाट भलिभाँती परिचित धनराज पुनः मतगणनाको मागबाट टसमट भएनन् । आफ्नो पक्षमा नजानिँदो तवरले मत घटाउने कार्य भइरहेको छनक पाएपछि मतगणनास्थलमै बसेका धनराजको माग अनुसार पुनः उक्त बण्डल गणना गर्न निर्वाचन समिति बाध्य भयो ।

त्यसपछि बाँकी ९०० मत गणनामा पनि पुनः धनराजको मत घटाउने कार्य भयो । सुजता कोइराला प्यानलले ४३ मत गणना गरेर टिप्दा अन्य उम्मेद्वारका प्रतिनिधिले ४१ मात्र टिपे । निर्वाचन समितिले पनि ४३ लाई नै मान्यता दिएपछि धनराज र सुजताका प्रतिनिधिले प्रतिरोध गर्दै पुनः मतगणनाको माग गरे । धनराज आफैं बसेर निर्वाचन समितिलाई पुनः मतगणनाका लागि दवाव दिएपछि समितिले मतगणना गर्यो । त्यसमा धनराजको ४३ मत ठहर भयो । गच्छदारलाई जिताउने ध्येयले निर्वाचन समितिकै केही अधिकारी सक्रिय रहेपनि धनराज गुरुङको सावधानीले गच्छदार पराजित भए ।

गच्छदारलाई कांग्रेसमा स्वार्थी नेताका रुपमा लिइन्छ । आफ्नो व्यक्तिगत राजनीति मात्र हेर्ने उनले आफ्नै कार्यकर्ता समेत जोगाउन सकेका छैनन् । राजनीतिक सौदावाजी गर्न माहिर गच्छदारले सत्ता नपाउँदा कांग्रेस त्यागेर मधेशी जनाधिकार फोरम गएको आम कांग्रेसी कार्यकर्तालाई ताजै छ । फोरममा पनि चित्त नबुझेपछि उपेन्द्र यादवलाई धोका दिएर फोरम लोकतान्त्रिक पार्टी बनाएका थिए । सिद्धान्तहिन राजनीति गर्दै आएका गच्छदार कमजोर भएपछि पुनः कांग्रेसमा फर्किएका हुन् । कांग्रेसमा पनि गच्छदारले वार्गेनिङको राजनीति गरिरहेको संस्थापन इतरको बुझाई छ ।

‘पद र पावरका लागि जुनसुकै हदसम्म गच्छदार जान सक्ने भएर हामी निर्वाचन समितिसँग विस्वस्त हुन सकिरहेका थिएनौं । नभन्दै त्यहाँ पनि चलखेल हुन खोजेपनि हामीआम कांग्रेसीजनको मत सुरक्षित गर्न सफल भयौं ।’ डा। शेखर प्यानलका एक केन्द्रीय सदस्यले भने ।

सुनसरी क्षेत्र नं ३ को राजनीतिमा गच्छदारले नेकपा एमालेकी नेतृ भगवती चौधरीलाई दिनसम्म दुखः दिएको इतिहास छ । २०७० सालको दोश्रो संविधानसभा निर्वाचन र ०७४ सालको आम निर्वाचनमा गच्छदारले राज्य शक्तिकै चरम दुरुपयोग गरेर चुनाव जितेका थिए । सोको विरुद्ध भगवतीले पटक–पटक न्यायालयको ढोका ढक्ढक्याउँदा पनि न्यायालय समेतले चासो दिएन । अझैपनि चौधरीले हालेको मुद्दा अदालतमा विचाराधिन छ । ०७४ सालको निर्वाचनको परिवेश र ०७० सालको परिवेश एकै थियो । दुवै निर्वाचनमा भगवती चौधरीलाई राज्य सत्ताकै दुरुपयोग गर्दै हराइएको स्वयं काग्रेसी वृत्तमा अझै चर्चा छ ।

आफ्नो ४० वर्षे राजनीतिक इतिहासमा १२ पटक सरकारको महत्वपूर्ण ओहदामा पुगेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई समेत अध्यारोमा राखेका छन् ।

उपप्रधानसहित भौतिक निर्माण, पर्यटन, गृह, जलश्रोत, सञ्चार, स्थानीय विकास मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्री भएपनि आफ्नो गाउँ र क्षेत्रका जनतालाई विकासका आधारभूत आधार समेत दिएका छैनन् । ‘अहिलेपनि गच्छदारको क्षेत्रका जनताले स्वच्छ खानेपानी पाएका छैनन्, कालेपत्रे सडक छैन, पर्यटकीय क्षेत्र ओझेलमा छ, गतिलो विद्यालय, कलेज छैन, विरामी हुँदा उपचारकालागि स्तरीय अस्पताल छैनन् ।’ स्थानीय जनता भन्छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुख्य आरोपित भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै सांसद पदबाट पनि निलम्बित भएका गच्छदार केपी शर्मा ओलीको सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री भएको २४ घन्टा नवित्दै सेटिङमा विशेष अदालत हाजिर भएका थिए ।

त्यसअघि २ वर्षसम्म अदालतको म्याद गुजार्न देउवाले गच्छदारलाई विशेष संरक्षण समेत गरेको आरोप थियो । गच्छदार उपसभापतिमा पराजित भएसँगै अधिकांश कांग्रेसीजन खुसी भएका छन् । रिजाल एमालेका युवा नेता हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend