रूपन्देही १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही( २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेलले कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा बढे पनि एमालेले समन्वय गरेर अगाडि बढ्ने बताएका छन । बहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने भन्दै पौडेलले प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको र एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे । सोमबार बिहान प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
‘एजेण्डाको हिसाबले एमालेको बहुमत आउनुपर्थ्यो तर भएन, परिणामलाई हामी स्वीकारेर जान्छौं, निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण हो’, उनले भने ।
‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन’, पौडेलले भने, ‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआएपनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन ।’
पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता जनाए । चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप(प्रत्यारोपभन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरूवात गरेको उनको जिकिर थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend