फाइल फोटो
झापा २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताए । आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी)मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।उनले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे । उनले भने, ‘गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।’
राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, ‘यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उम्मेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बताए ।
अध्यक्ष ओली आज साँझ नै आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा पुगेका छन्। अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend