काठमाडौं १९ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने घोषणा गरेको छ । जसपाले यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य बीमाको माध्यमबाट जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो ।
जसपाले मुलुकको सङ्घीय ढाँचाअनुरूप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ सबैको स्वास्थ्य सेवामाथिको पहुँच स्थापित गर्ने, केन्द्रीकृत राज्यको परिणामस्वरूप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँ–गाउँ पु¥याउन उपत्यका बाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थालाई विशेष सुविधा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनि रहेका दलित र अपाङ्गता भएका व्यक्तिका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने, न्यून आय भएका जनताको मुटुरोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मिर्गौलासम्बन्धी जटिल रोगको उपचारका लागि राज्यले दिँदै आएको सहयोगलाई शतप्रतिशत वृद्धि गर्ने र मिर्गौला प्रत्यारोपण निःशुल्करूपमा गर्ने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।
जसपाले आफ्नो घोषणापत्रमा ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, बाढी–पहिरो, प्राकृतिक प्रकोपजस्ता विपत्को बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने, वडाहरूका स्वास्थ्यचौकी स्तरोन्नति गर्ने र प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्नेजस्ता योजना ल्याएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend