काठमाडौँ २ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्।
बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले यस्तो कुरा बताएका हुन्। मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पूरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको उनले बताए।
प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा जसपाले उम्मेदवारी दिएको उनले बताए। १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ।
ुसंसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत ५ दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँु उनले भने, ुतर, कांग्रेस र नेकपा माओवादीले जसपालाई धोका दिए। जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगञ्जलाई लिन सक्छौँ।’
यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे। उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनःचुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने पनि बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend