आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानाध्यापकको जागिर छोड्दा आलोचना गर्नेहरु अहिले सांसदको उम्मेदवार हुँदा बधाई दिन थालेका छन् – किशोरचन्द्र दुलाल

प्रधानाध्यापकको जागिर छोड्दा आलोचना गर्नेहरु अहिले सांसदको उम्मेदवार हुँदा बधाई दिन थालेका छन् – किशोरचन्द्र दुलाल

तेह्रथुम २५ असोज । मदन भण्डारीको भाषण सुनेर एमाले भएका तेह्रथुमका किशोर चन्द्र दुलाल तेह्रथुमको ‘क’ प्रदेशबाट नेकपा एमालेको उम्मेदवार भएका छन् । २०४१ साल कार्तिक २० गते भण्डारी आउने अरे भन्ने थाहा पाएपछि भाषण सुन्न गएका उनलाई त्यो दिनदेखि नै एमालेको विचारले तान्यो, उनी बिस्तारै एमालेको राजनीतिमा सक्रिय भएर लागे ।
प्रधानाध्यापकको जागिर खाँदै गरेका उनले पेन्सन हुन डेढ वर्ष नै बाँकी हुँदा राजीनामा दिएर राजनीतिक यात्रा अघि बढाए । उनी त्यो निर्णय सम्झँदै आज भन्छन् ‘ त्यतिबेला मेरो निर्णय सही लागेको थियो तर मलाई धेरैले गल्ती गरिस् भनें, मैले जे गरें मलाई त्यसमा दुःख लागेको छैन ।’ उनले भइरहेको जागिर छोडेर राजनीतिमा आएपछि केही सामान्य समस्या भएको पनि जनाएका छन् । २०५१ सालमा पार्टी सचिव भएका दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति भए । पार्टीको प्रदेश कमिटीका सदस्य दुलालले आगामी निर्वाचनमा प्रदेशका मतदाताले जिताउने अपेक्षा गरेका छन् । ‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’ उनले भने ‘मैले अहिलेसम्म राजनीतिसँगै समाजसेवा पनि गरें, मेरो योगदानको कदर होला भन्नेमा ढुक्क छु ।’
पछिल्लो समयमा राजनीति दल र नेताहरुप्रति हुने गरेका आलोचनाले उनको मन पनि छोएको छ तर राजनीतिलाई एउटा उदाहरण बनाउन चाहन्छन् । उनी एमालेको गत मंसिरमा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा थिए । निर्वाचनको प्रक्रियामा नगएपछि उनी पछि हटे । ‘मनोनीत केन्द्रीय सदस्य लिने मन भएन, म महाधिवेशनबाटै आउने सोचमा थिँए’ उनी भन्छन् ‘ पार्टीले मलाई दिएको जिम्मेवारी आफ्नो ठाउँमा बसेर पूरा गरेको छु, भोलिका दिनमा जनताको पनि जिम्मेवारी थपिने छ ।’ उनले झण्डै ४० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए । उनले २०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भए । कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् ।
उनले जिल्लामा पार्टीको संगठन राम्रो रहेकाले निर्वाचन जित्ने बताएका छन् । ‘म पार्टीभित्र त्याग र तपस्याको एउटा उदाहरण नै हुँ’ उनले भने ‘ म उम्मेदवार भएपछि अन्य पार्टीकाले पनि बधाई र शुभकामना दिएका छन् ।’ उनले आगामी दिनमा जिल्लाको समग्र विकासका लागि योगदान दिने बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend