काठमाडौं २५ असोज । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापासहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, सोमबार निर्वाचन आयोगमा कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी दर्ता भएको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसले गठबन्धनबाट प्रतिनिधिसभातर्फ चितवन(१ बाट उठाएको उम्मेदवार विश्वनाथ पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका छन्। नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौं ४ का कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरूको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियमविपरीत मनोनयन गरेको दावी गर्दै उम्मेदवारी खारेजीको लागि उजुरी दर्ता गराएका थिए। त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले आयोगले तोकेबमोजिम कानुनी प्रक्रिया पूरा नगरी उम्मेदवारी पेस गरेको दावी गर्दै मनोनयन खारेजीको लागि उजुरी दिएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend