काठमाडौं । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभाले संस्थाको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ। काठमाडौंको बसुन्धारामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेको हो।
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित वार्षिक बजेट पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमा समेत निर्णय गरेको छ। त्यस्तै, आगामी कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्ने प्रक्रिया अघि बढाउँदै संस्थाको भावी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्णयहरू गरेको छ।
सभाबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ। जसअनुसार अध्यक्षमा रामु सुवेदी, उपाध्यक्षमा पूर्णबहादुर जीसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा यामबहादुर सुर्खाली चयन भएका छन्। नयाँ नेतृत्वले संस्थाको आगामी कार्ययोजना र सहकारी गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरणसम्बन्धी प्रस्तावमा समेत निर्णय गरेको छ। संस्थाका विभिन्न गतिविधि तथा आगामी योजनालाई अनुमोदन गर्दै सभाले सहकारीको नियमित सञ्चालन र संस्थागत विकासका विषयमा छलफल गरेको जनाइएको छ।
साधारणसभामा संस्थाका शेयरधनी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। संस्थाले साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend