दमक १० असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको बताएका छन् ।
झापाको दमकमा आइतबार बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब कसैले पनि गठबन्धनको जालझेलमा अलमलिने अवस्था नभएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीबाट सातसय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
नेकपा (एमाले)ले अघि बढाएका सबै विकास निर्माणका काममा अहिले रोकावट आएको र गठबन्धन सरकारले देशलाई निरन्तर ओरालोतिर लगेको भन्दै अध्यक्ष ओलीले २१ औँ शताब्दीका जनताले मुलुकको विकास कुन पार्टीले गर्नसक्छ भनेर बुझ्न आवश्यक रहेको बताए ।
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको बहुमतको सरकार निर्माण आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष ओलीले भने– ‘नेकपा एमाले विजयी हुनु भनेको हामीले शुरू गरेको विकास र समृद्धि यात्राको विजय हो । एमाले पराजित हुनु भनेको यो अभियान पराजित हुनु हो ।’
नेपालमा ३० औँ बर्षसम्म नबनेका सडक, भौतिक पूर्वाधार विकासका काम एमालेको सरकारले तीनबर्षको कार्यकालमा भएको, हजारौँ पुल बनेका, तुइनका ठाउँमा पुल बनाई तुइनमुक्त युगमा प्रवेश गरेको उनले बताए ।
अध्यक्ष ओलीले देशमा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउनुका साथै क्षमता बृद्धि गरिएको, राष्ट्रिय र क्षेत्रीय स्तरका विमास्थलको स्तरउन्नति गरिएको बताए । न्यूजपोलारबाट साभार
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend