काठमाडौं १० असोज । मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा निषेध गर्नेहरू नै निर्वाचन नजिकिएसँगै एमालेमै प्रवेश गर्न थालेका छन् ।
एमालेले मधेसमा पनि आफ्नो बलियो उपस्थिति देखाउन मधेसवादी दलका नेताहरूलाई पार्टी प्रवेश गराइरहेको छ। यसअघिका दुईवटा निर्वाचनमा एमालेलाई मधेस प्रदेशमा गम्भीर धक्का लागेपछि उसले पछिल्लो रणनीतिअनुसार मधेस प्रदेशमा ठुलो दल बन्न अन्य दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन थालेको हो। मधेसवादी दलमा लागेका तर अवसर नपाएका नेता कार्यकर्तालाई एमालेले आफ्नो पार्टीमा भित्र्याउन थालेको छ। त्यति मात्र होइन, मधेसमा मधेसवादी र अन्य दलका निवर्तमान सांसदलाई पनि आफ्नो पार्टीमा ल्याएर त्यहाँ आफ्नो उपस्थिति बलियो बनाउन एमाले लागिपरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend