बुटवल ७ असोज । उद्योगी व्यवसायीहरुले बैंकहरुले विभिन्न बहानामा ब्याजदर वृद्धि गरेपछि समस्या बढेको बताएका छन् । बैंकहरुले धमाधम ब्याजदर बढाउँदा आर्थिक संकटले उद्योग व्यवसाय धरापमा परेको उनीहरुको गुनासो छ ।
रुपन्देही र नवलपरासीका उद्योगी व्यवसायीले ब्याजदर बढ्दै जाने हो भने आफ्ना उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको बताए । पश्चिम नवलपरासीका उद्योगी नगेन्द्र अग्रहरीले बैंकहरुले मनोमानी तरिकाले महिनैपिच्छे चर्को ब्याज लिँदा उद्योगी व्यवसायीहरु धरासायी बन्दै गुनासो गरे । ट्रक व्यवसायी रामकिसुन गुप्ताले बैंकहरुले महिनैपिच्छे व्याजदरमा वृद्धि गर्ने र ईन्धनको मूल्य समेत लगातार वृद्धि हुने तर ढुवानी भाडा नबढ्दा व्यवसाय धरापमा परेको गुनासो गरे ।
पेट्रोलिय व्यवसायी राजेशकुमार गुप्ताले बैंकहरुले आक्रामक शैलीमा व्याज वृद्धि गरिरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बैंकहरुको चर्को व्याजले नवलपरासीका उद्योगी व्यवसायी चरम मर्कामा परेको गुनासो गरे । बैंकले १४ बाट १८ प्रतिशतसम्म ब्याज वृद्धि गर्दा पनि सरकार निरीह बनेको उनको भनाइ छ ।
व्यवसायी माधवप्रसाद नेपालले मुलुक आर्थिक रुपमा अत्यन्तै कठिन अवस्थाबाट गुजिरहेको अवस्थामा बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजदरले उद्योग तथा व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend