आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेल बारे यसो भन्छन्

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेल बारे यसो भन्छन्

 

सप्तरी ६ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ गठबन्धनसँग नै चुनावी तालमेल गर्ने सम्भावना रहेको बताएका छन् ।

राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफूहरुको माग र मुद्दामा सरकारले सकारात्मक काम गरिरहेकाले सत्ता गठबन्धनसँगै सहकार्य गर्ने बताए । यस सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको उनको भनाइ छ ।

‘गठबन्धनका लागि अरु तर्फबाट पनि प्रस्ताव आइरहेको छ’ उनले भने, ‘तर कुराकानी भने प्रधानमन्त्रीसँग भइरहेको छ । गठबन्धन भए चुनावी तालमेल पनि हुनेछ ।’

गठबन्धन नभए एक्लै पनि चुनावमा जाने नेता महतोले बताए । ‘कुनै परिस्थितिमा चुनाव लडनुपर्छ, यही मानसिकताका साथ काम गर्नुस्’ महतोले कार्यकर्तालाई भने, ‘चुनावलाई आन्दोलनको रुपमा बुझेर तयारी गर्नुपर्छ ।’

विगतमा आफूहरुको माग र मुद्दा सम्बोधन गराउन केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सहभागी भएको भन्दै महतोले त्यतिबेला धेरै बदनामी खेप्नुपरेको बताए । ‘१३९ जनाको मुद्दा फिर्ता गरायौं, नागरिकता अध्यादेश जारी गराएपछि ओली नेतृत्वको सरकारको समर्थन गरेका थियौं’ उनले भने, ‘त्यो सरकारमा गएपछि हाम्रो बदनामी भयो । माग र मुद्दाका लागि बदनामी लियौं ।’

यो सरकारले नागरिकता सम्बन्धी कानुन ल्याएपछि सहयोग, समर्थन हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेको बताउँदै महतोले राष्ट्रपति एकल जातीय र नश्लीय सोंचले ग्रसित भएर नागरिकता विधेयक फिर्ता गरेको आरोप लगाए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend