काठमाडौं १७ साउन । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन ।
आईओसीले नेपाललाई विक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो तथा पन्ध्रौँ तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ।
आईओसीले १ अगस्टमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मटीतेलमा १२.४५ रुपैयाँले घटाएको छ भने यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो। तर, भारतबाट मूल्य घटेर आए पनि निगमले भने अझै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । आजको कारोबार दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend