सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दलहरु भागबण्डामा, सर्वसाधारण जनता समस्यामा

दलहरु भागबण्डामा, सर्वसाधारण जनता समस्यामा

डा डी आर उपाध्याय

अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैले बुझेका छन । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ?  प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ ।

समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ?  गरीव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरु देश र जनता प्रति गम्भिर हुनु पर्ने हो की हैन ?  दलहरुको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् ।

आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र तिनका नेताहरुलाई चिन्ता लाग्नु पर्ने होइनर ?  राजनीतिक दल र तिनका नेताहरुको भ्रष्ट प्रवृत्ति, स्वार्थ, लोभ र अहंकारका कारण मुलुक बर्वादी तर्फ गइरहेको छ ।

जनताका समस्यालाई आत्मसात् गरेर सरकार अघि बढ्नु पर्दथ्यो । वर्तमान गठबन्धन सरकार जनताको पक्षमा त्यति गम्भिर भएर लागेको देखिएन । दलहरु भागबण्डामा रमाए । यो सरकारले आम नागरिकको हितमा काम गरेर देखाउनु पर्ने हो तर त्यस्तो देखिएन । सर्वसाधारण गरिब जनता दिनप्रतिदिन पीडित र मर्माहत बनिरहेका छन् । उनीहरूका लागि सरकार किन गम्भिर बन्न सकेन ?   सर्वसाधारण गरिब जनता बिहानदेखि रातिसम्म पसिना बगाउँदै काम गर्छन् तर पनि राम्रो संग खान पाएका छैनन् । नेपालको शिक्षा अत्यन्तै महँगो भएकाले सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सकिरहेका छैनन् ।

यस्तो महंगो छ नेपालको शिक्षा । सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सक्ने अबस्था छैन । शिक्षा पूर्ण रूपमा व्यापारीकरण हुदै गएको छ । राज्यले सरकारी विद्यालय सुधार गर्न सकिरहेको छैन । जनता महँगीले आक्रान्त बनेका छन । किसानले मल पाएका छैनन् । विद्यार्थीले समयमा पुस्तक पाएका छैनन् । मजदुरले श्रमको उचित ज्याला पाएका छैनन् ।

गरिब जनताले राम्रो उपचार पाएका छैनन् । रोजगारीको अभावमा कैयौं सर्वसाधारण भौतारिनु परेको छ । सरकार यो बिषयमा बेखवर जस्तै छ । आमजनताका समस्या सरकारले बुझन सक्नु पर्छ । सर्वसाधारणको चुल्होलाई कसरी सहज बनाउने भन्ने कुरामा सरकारको ध्यान जानु पर्छ । अहिले पनि विकट गाउँबस्तीमा सिटोमल र जीवनजल समेत नपाएर मानिस अकालमा मर्नुपर्ने दुःखद् अवस्था छ ।

विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्नसमेत विवश छन् । स्वास्थ्य अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिक प्रताडित छन् । अहिले विभिन्न बहाना बनाएर सरकारी निकायकै संरक्षणमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गराइरहेका छन् । सरकारका सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । अहिले देखिएका समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर रुपमा अघि बढनु पर्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend