राम प्रसाद गैरे (आरपी)
भूमिका
१६ असार , काठमाडौं । नेपालमा हरेक वर्षको बर्खे मौसमी चक्र केवल पानी मात्र होइन, धेरै ठाउँमा विनाशको चेतावनी लिएर आउने गर्दछ । वर्षासँगै देशका पहाडी भूभागमा पहिरो, तराई र भित्री मधेशमा बाढी, अनि सडक र बस्तीहरूमा डुबानका घटना सामान्य जस्तै भइरहेका छन् । हरेक वर्ष सयौँ परिवार विस्थापित र कयौँले ज्यान गुमाउने घटनाले हामीलाई सम्झाइरहन्छ कि बर्खा केवल प्राकृतिक प्रक्रिया मात्र होइन, राज्य र जनताको लापरवाहीको परीक्षाको समय पनि हो । अहिले पनि देशभर मनसुन सक्रिय भएसँगै खोलानाला र पहाडहरूले खतराको संकेत दिइरहेका छन् ।
पृष्ठभूमि
नेपाल भौगोलिक दृष्टिले अति संवेदनशील छ । विश्वमै धेरै प्राकृतिक प्रकोपको जोखिममा पर्ने देशमध्ये एक नेपाल हो । यहाँको अस्थिर भौगोलिक बनोट, अनियन्त्रित बस्ती विस्तार, डोजरले सडक बनाउने विकासको शैली, वन क्षेत्रको अन्धाधुन्ध विनाश, अव्यवस्थित खानी उत्खननले जोखिम अझै बढाएको छ । विगतका वर्षहरूमा सिन्धुपाल्चोकदेखि मेलम्चीसम्म, भोजपुरदेखि गुल्मी, दाङदेखि सुर्खेतसम्म कैयौँ ठाउँमा आएको बाढी र पहिरोले हजारौँ परिवारलाई विस्थापित बनायो र अकालमै धेरैको ज्यान गयो । ती भोगाइहरूले अहिलेको चेतावनीलाई केवल अनुमानमा सीमित नराखी हाम्रो सामु कठोर यथार्थका रूपमा प्रस्तुत गरिरहेको छ ।
जोखिम
देशका पहाडी र हिमाली क्षेत्रका बस्तीहरू पहिरोको उच्च जोखिममा छन् भने तराईका सहर र गाउँहरू बाढीको चपेटामा पर्छन् । सडक निर्माण र विकासको नाममा बिनायोजना भएका डोजर गतिविधि, असंवेदनशील पूर्वाधार निर्माण, अनि खोल्सी र नदीकिनारका बस्ती विस्तारले प्रकोपको खतरा अझ भयावह बनाएको छ । भूगर्भ अध्ययन नगरी सडक खनिएर भूस्खलन निम्त्याउने, नदी कटान रोक्ने व्यवस्थाबिना पुल र बाटो बनाउनेजस्ता कारणले बर्खामा जोखिम अझ बढ्छ । मौसमविद्हरूले यतिबेला ठूलो वर्षाको सम्भावना र मेघगर्जनसहित भारी वर्षाको चेतावनी दिइरहेका छन्, जसलाई उपेक्षा गर्दा कैयौँ गाउँबस्ती नै हराउने र जनधनको अपूरणीय क्षति हुने निश्चितप्रायः छ ।
सचेतना
सबैभन्दा पहिले आमनागरिक स्वयं सचेत बन्न जरुरी छ । खोलानाला र पहिरोको जोखिमयुक्त ठाउँमा नबस्ने, बाढी आउनसक्ने सूचना पाउनेबित्तिकै सुरक्षित स्थानमा सर्ने, सामुदायिक सतर्कता समूहहरू मार्फत सूचना आदानप्रदान गर्ने, प्राथमिक उपचार, सुरक्षित स्थल र आपतकालीन सम्पर्कबारे जानकारी राख्ने आदि सामान्य तर महत्वपूर्ण उपायहरू हुन् । यसको लागि तीनै तहका सरकार, सञ्चारमाध्यम, विद्यालय र सामाजिक संघसंस्थाले जनचेतना अभिवृद्धिमा विशेष भूमिका खेल्नुपर्छ । चेतनाको अभावकै कारण धेरैले बाढी, पहिरो वा डुबानको बेला ज्यान गुमाएका तथ्यहरू प्रशस्तै छन् ।
पूर्वतयारी
प्रकोप व्यवस्थापनको मूल आधार भनेकै पूर्वतयारी हो । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण स्थापना गरेको भए पनि यसको काम प्रभावकारी बनाउन पर्याप्त स्रोत, जनशक्ति र प्रविधि अभाव देखिन्छ । स्थानीय तहसँग प्रकोपसम्बन्धी अद्यावधिक तथ्यांक, जोखिम नक्शा, उद्धारका साधन तथा तालिमप्राप्त जनशक्ति हुनुपर्छ । प्रत्येक जोखिमयुक्त बस्तीमा तत्काल राहत सामग्री र सुरक्षित स्थलको व्यवस्था हुनुपर्छ । संचार नेटवर्क, प्राथमिक उपचारका सामग्री, खाद्यान्न भण्डारण जस्ता तयारीसँगै हरेक बस्तीका बासिन्दालाई सुरक्षित स्थल र उद्धार मार्गबारे जानकारी गराउनुपर्छ ।
विपद् आउनुअघि तयारी
विपद् आएकोपछि मात्र दौडधुप गर्ने हाम्रो राज्यको पुरानो बानी हो । तर, प्रकोप व्यवस्थापनको पहिलो पाठ नै ‘विपद् आउनुअघि तयारी’ हो । सम्भावित जोखिम क्षेत्रको पहिचान, सचेतना कार्यक्रम, पूर्वतयारी अभ्यास, समुदायस्तरमा उद्धार टोली गठन, आपतकालीन सम्पर्क नम्बरहरुको प्रचारजस्ता तयारी अब सरकार, गैरसरकारी संस्था र नागरिक समाजले प्राथमिकताका साथ अगाडि बढाउनै पर्छ । मनसुनको सुरूवातसँगै सरकारले उद्धार, राहत र पुनस्र्थापनाका लागि तीनवटै तहका संयन्त्रलाई सक्रिय राखेर कुनै ढिलाइ नगरी काम सुरु गर्नुपर्छ ।
निष्कर्ष
विकास अपरिहार्य छ, तर अन्धाधुन्ध विकास होइन । डोजर आतंक, अवैज्ञानिक खानी उत्खनन, वन विनाशजस्ता कारणले बर्खाको जोखिमलाई अझ भयावह बनाएको अवस्था अब रोक्नैपर्छ । विकासलाई भूगर्भ, वातावरण र दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउन सकिएन भने हरेक वर्ष बर्खासँगै विपद्को श्रृंखला चलिरहनेछ । त्यसैले सरकार, नागरिक र सरोकारवाला सबै मिलेर जोखिम न्यूनीकरण, पूर्वतयारी र सचेतना अभियानमा जुटे मात्र हामीले बर्खाको ऋतुलाई अवसरमा बदल्न सक्छौं, नत्र ‘विकास’को नाममा आफैँले आफैँलाई विनाशको गर्तमा फ्यालिरहनेछौं ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend