सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सस्तो लोकप्रियताको राजनीति हाबी

सस्तो लोकप्रियताको राजनीति हाबी

भक्त बहादुर केसी,

 

८ असार, काठमाडौं । नेपालको समकालीन राजनीतिक परिदृश्यलाई नियाल्दा जनताको पीडा र नेताको अभिनयबीचको गहिरो खाडल प्रस्ट देखिन्छ। जनताको आँशु सधैं टेलिभिजनको पर्दामा देखिन्छ, तर त्यो आँशुको प्रतिबिम्ब कहिल्यै नेताको भाषणमा झल्किँदैन। जनताको समस्या समाचारमा रिपोर्ट त हुन्छ, तर समाधान सहमतिका नाममा कैयौं पन्नामुनि पुरिन्छ। शिक्षित वर्ग मौन छन्, बुद्धिजीवीहरू सम्झौतामा लिप्त छन्, नेताहरू अभिनयमा मस्त छन् र जनता सदाझैं प्रतीक्षामा छन्। यस्तो विडम्बनामा मूल प्रश्न उठ्छ—जनताको आवाज, पीडा र आशा कसले सुन्छ ? यस प्रश्नको उत्तर कुनै संसद, सरकार वा घोषणापत्रमा छैन। यसको उत्तर छ सजग नागरिक चेतनामा, निर्भीक विवेकमा र सेवा भावनाले प्रेरित समाजमा।

नेपालको राजनीतिक इतिहास सन् २००७ सालदेखि आजसम्म निरन्तर संक्रमण र आन्दोलनको घेराभित्र घुमिरहेको छ। राणा शासनको अन्त्यसँगै देशमा प्रजातन्त्रको घण्टी बजाइयो, तर त्यो प्रजातन्त्र जनसेवाभन्दा सत्ताको स्वार्थमा रुमल्लिन थाल्यो। २०१७ सालमा राजा महेन्द्रको कदमले बहुदलीय व्यवस्था हटाएर पञ्चायती व्यवस्थाको स्थापनायो, जसले विचारभन्दा आज्ञापालन र चाकरीलाई राजनीतिक मूल्य बनायो। २०४६ को आन्दोलनले बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्‍यो, तर नेतृत्वले जनताका अपेक्षालाई प्रयोग गरेर केवल सत्ता कब्जाको खेल खेल्न थाल्यो। सत्य बोल्नेहरू उपेक्षित भए, बेफकुहरू मन्त्री भए। फेरि २०५२ देखि २०६३ सम्मको माओवादी युद्ध परिवर्तनको नाममा हजारौंको ज्यान लियो, तर ती परिवर्तनका सारथीहरू नै अहिले सुविधामा लपेटिएका छन्। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता संविधानमा लेखिए पनि व्यवहारमा तिनको महत्त्व केवल नारामा सीमित छ।

राजनीतिक रूपमा गणतन्त्रपछि विवेकले नेतृत्व गर्ने आशा गरिएको थियो, तर विवेक होइन, अब फेरि झुट, प्रचार र सस्तो लोकप्रियताको राजनीति हाबी भइरहेको छ। आज माइक समाएर चर्का नारा लगाउनेहरू संसदको कुर्सीमा छन्, तर ज्ञान, अनुभव र विवेक बोकेका पात्रहरू मौन छन्। जनताले बारम्बार ठगिँदै पनि आशा नगरेका होइनन्, तर हरेकपटक सपना त देखाइन्छ, पूरा कहिल्यै हुँदैन। परिवर्तन भनेको अनुहार फेरिएको मात्र हुन्छ, प्रवृत्तिहरू उस्तै रहन्छन्। बिडम्बना के छ भने, आज देश बेकुफ देखिनेहरूको नेतृत्वमा चलिरहेको छ, अनि फेरि पनि जनता भोट हाल्न लाइनमा लागेका हुन्छन्—शायद योपटक त केही फेरिएला भन्ने आशामा।

यति लामो इतिहासको मूलमा एउटा कुरा स्पष्ट देखिन्छ–देश केवल कानून पास गरेर, प्रस्ताव पारित गरेर वा बन्दसत्र राखेर बनिँदैन। देश बनिन्छ जनताको विश्वासमा, न्यायमा आधारित व्यवस्थामा, शिक्षाको निष्ठामा र कर्मको इमानदारीमा। जब एक किसान माटोमा पसिना हाल्छ, जब शिक्षक ज्ञानको बीउ रोप्छ, जब कर्मचारी सेवा दिनमा गर्व गर्छ, र जब नेता कुर्सी होइन कर्तव्य रोज्छ, तब मात्रै देश बनिन्छ। देश बनाउनेहरू त्यस्ता विवेकशील नागरिक हुन्, जसले घमण्ड गर्दैनन्, जो सत्ता होइन सेवा खोज्छन्, जो नारामा होइन, आचरणमा परिवर्तन ल्याउँछन्।

नेपालमा आजको अवस्था हेर्दा लाग्छ, देश ठगिएका जनताको चिहान बन्ने खतरा बढिरहेको छ। तर अझै सम्भावना बाँकी छ। जब नागरिक न्यायको पक्षमा अडान लिन्छन्, जब युवाहरू विवेकशील नेतृत्वका निम्ति अघि बढ्छन्, जब समाज नाफामुखी होइन मूल्यप्रधान हुन्छ, तब देशको निर्माण सम्भव हुन्छ। यो निर्माणको कार्य नेताको भाषणले होइन, नागरिकको चेतनाले सम्भव हुन्छ। जब हामी हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछौं, स्वार्थभन्दा समर्पणलाई प्राथमिकता दिन्छौं, तब देशको दिशामा पनि सकारात्मक मोड आउँछ।

देश कुनै एक नेताले बनाउने होइन, कुनै पार्टीले बनाइदिने कुरा पनि होइन। देश बनाउने शक्ति प्रत्येक नागरिकको विवेक, आचरण र अडानमा लुकेको हुन्छ। जब नागरिकहरू आँखा चिम्लेर होइन, खुलेर हेर्न सिक्छन्, जब उनीहरूले प्रश्न गर्न थाल्छन् र जवाफ माग्छन्, तब नेताहरू पनि डराउन थाल्छन्। देश तब बनिन्छ जब जनताको आँशु होइन, मुस्कान स्थायी हुन्छ। देश तब बलियो हुन्छ जब विवेक मौन हुँदैन र घमण्ड बोल्न छाड्छ। जुन दिन स्वार्थभन्दा समर्पण, र भाषणभन्दा व्यवहारले देश चलाउने जिम्मा लिन्छ, त्यो दिन साँच्चिकै देश बन्न सुरु हुन्छ।

अन्त्यमा, मातृभूमि कसैको भाषणले होइन, साँचो माया गर्नेहरूका इमानदार कर्म र विवेकशील निर्णयले बन्ने हो। जसले केवल परिवर्तनको सपना देख्दैन, त्यो सपना पूरा गर्न श्रम गर्छ, न्यायको निम्ति अडान लिन्छ र देशप्रेमलाई नारा होइन, जीवनशैली बनाउँछ—त्यही व्यक्ति, त्यही समाज र त्यही नागरिक शक्ति हो, जसले देशलाई साँच्चिकै नयाँ दिशा दिन सक्छ। अब प्रश्न होइन, अडानको समय आएको छ—साँचिकै परिवर्तन चाहिन्छ भने, त्यो परिवर्तन हाम्रै बोली, बानी र ब्यवहारबाट सुरु गर्नुपर्छ। यही बाटो हो देश बनाउने एकमात्र वास्तविक उपाय।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend