फाइल तस्बिर
काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस अहंकारी हुने हो भने ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार काठमाडौंमा आफ्नो पार्टीबाट निर्वाचित देशभरका स्थानीय तह प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै कांग्रेसलाई यस्तो चेतावनी दिएका हुन ।
प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताए।
‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बिनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्। कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताए। स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले माओवादीमाथि शंका पनि व्यक्त गरेको र आशा पनि राखेको उनले बताए।
‘हाम्रो पार्टीप्रति जनताको मोह भंग भइसकेको स्थिति छैन। तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने।
जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका जारी गर्ने उनले सुनाए। उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिए। उनले भने, ‘उपदेश दिनका लागि यो आयोजना गरिएको होइन। उपदेश धेरै भइसकेको छ। कामकाजी कुरा चाहिएको छ। हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्यो।’
कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्व मुख्यसचिव लिलामणि पौड्याल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend