काठमाडौं १८ जेठ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।
आयोगका सदस्यसचिव डा भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब थियो तर आयोगले अरू कुराको मूल्य वृद्धिको यथार्थ स्थितिभन्दा निकै कम प्रतिशत मात्र शुल्क वृद्धि गरेको छ।” विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए तर आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्रास्फीतिका आधारमा मात्र ३.६ प्रतिशत शुल्क वृद्धिका लागि सहमति दिएका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend