काठमाडौं १८ जेठ । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो।
मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए। उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए। उनले भने, “मौसमविद्हरूले बुधबारदेखि मनसुन सुरु हुने जानकारी दिएकाले आयोजनाको मुहान क्षेत्र संरक्षणका लागि सबै ढोका बन्द गर्न लागिएको हो।” सुरुङ मार्गमा पानी पथान्तरण रोकिएसँगै गत वर्षाको बाढीले क्षतिग्रस्त बनेका ढोका मर्मत गरिने छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend