आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

 

 

काठमाडौं १९ फागुन । नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ । दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताए । उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend