बिष्णु प्रसाद शर्मा,
लामो समय देखि देशमा दलीय शासन चलिरहेको छ । दलीय शासनबाट जनता किन सन्तुष्टि हुन सकेका छैनन् । ३४ बर्षको अवधिमा दलीय शासनबाट देश र जनताले के पाए ? यस्तै धेरै प्रश्नहरु सबैतिर छताछुल्ल भएको छ र बिदेशीहरुले दलहरुलाई मात्र किन बोकिरहेका छन ? र जनताको हित बिपरित किन स्वार्थ सिद्ध गराईरहेका छन ? बिश्व इतिहासमा नेपाल संयुक्त राष्ट्र संघको एउटा सदस्य राष्ट्र भएता पनि बैरिफिरंगीहरुले किन चरिरहेको कुखुरालाई बाज चिलले छोपे झै छोपेर चिथरी राखेका छन् यो झनै गम्भिर प्रश्न हो । नेपाल कसैको उपनिवेशमा पुगेको थिएन । नेपाली जनताका पुर्खाहरुले उत्साहजनक तवरले जोगाएर आफना सन्ततिहरुलाई सुम्पदै आएको पबित्र तपोभूमि देश हो । नेपाली जनताका नसा नसामा हिन्दुत्वको रगत बगिराखेको छ र यो निरन्तर बगिरहने छ । कुनै बैरी फिरंगीहरुवाट रोक्न सक्ने तागत नै छैन । पुर्खाहरुले एक मात्र हिन्दु राष्ट्र नेपाल सगरमाथाको शिर बनाउन सफल भएता पनि दलीयताको कारण बिकाउमै बिक्ने बर्णशंकरहरुको लालचिपनले संकट ग्रस्थ अबस्थामा पुगेको छ । दलहरुको देश बनाउने एजेण्डा छैन । बिदेशीहरुले यसरी फाइदा लिएर जनतालाई धुरु धुरु रुवाई राखेका छन । निर्वाचन पछि देश र जनताले के पाए ? जनता किन निराश छन ? आशाको दियो र शान्तिको मियो देखा परेको छैन । भारत र पश्चिमाहरुलाई नेपाल र नेपाली जनताको चिन्ता किमार्थ होइन । उनीहरुलाई आबश्यकता र स्वार्थ पुरा भए पुग्दछ यो नेपाली जनताले बुझेको कुरा हो । दलहरुमा नेपाल हाम्रो राजनीति गर्ने थलो हो । नेपाल मासियो भने हामी मात्र होइन, हाम्रो सन्तति पनि मासिने छ भनेर सोच पलाउनु पर्ने थियो, पलाएन । डलर र युरोका भरमा देश बिदेशीलाई सुम्पने थिएनन् । पुर्खाको नासो बिरताको चिनो आज भट्टी पसलको गाग्रो बनेको छ र त्यो बिशाक्त पदार्थले बीर गोर्खालीहरुको शान र मान दुबै छोपिदिएको अबस्था छ । हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्द मनले । खै त आज कदर भएको ? के देश भन्दा ठूलो पद र सम्पत्ति हो ? पद र सम्पत्तिका लागी बिकेर देशको नाश गर्नु आफैमा लज्जास्पद कुरा होइन ? अब आम नेपाली जनताले गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend