काठमाण्डौ पुस २४ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन ।
अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए ।
अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरे । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दाबी थियो ।
‘केपी ओलीमा व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियोु अध्यक्ष नेपालले भने, ‘हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौँ । दुईटा पार्टीहरु एमाले र माओवादी मिल्ने भए भनेर हामी पहिले खुसी भएका थियौँ । तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ ।”
अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend