मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

क्यान महासंघको नाम, लेटरहेड र छाप अनधिकृत प्रयोग नगर्न चेतावनी

क्यान महासंघको नाम, लेटरहेड र छाप अनधिकृत प्रयोग नगर्न चेतावनी

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा सरकारी निकायमा पत्राचार भइरहेको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट क्यान महासंघको आधिकारिक लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर प्रयोग गरी पत्राचार भइरहेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका अनुसार संस्थाको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय तथा सचिवालयले निर्धारण गरेको प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्र हुने व्यवस्था छ।

महासंघले उक्त प्रक्रियाविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना क्यान महासंघको आधिकारिक धारणा वा निर्णय नरहेको स्पष्ट पारेको छ। साथै महासंघको नाम, लेटरहेड, छाप वा दर्ता–चलानी नम्बरको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई सचेत गराएको छ।

त्यस्ता गतिविधि पुनः दोहोरिएमा वा त्यसबाट महासंघको प्रतिष्ठा, अधिकार तथा संस्थागत कामकारबाहीमा असर पर्ने अवस्था सिर्जना भएमा सम्बन्धित व्यक्ति वा पक्षविरुद्ध महासंघको विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक संस्थागत तथा कानुनी कारबाही अघि बढाउने चेतावनी महासंघले दिएको छ।

महासंघले आफ्नो नामबाट प्राप्त हुने कुनै पनि पत्राचार वा निर्देशनको आधिकारिकता महासंघको सचिवालयबाट पुष्टि नगरी कार्यान्वयन नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरेको छ।

महासंघका महासचिव चन्द्रविलास भुर्तेलद्वारा जारी विज्ञप्तिमा संस्थाको आधिकारिकता र संस्थागत प्रक्रियालाई कायम राख्न सबै सरोकारवालालाई सचेत रहन आग्रह गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend