शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपालको राष्ट्रियता, स्वाधीनता र मौलिक पहिचान जोगाउनुपर्छः लुईटेल

नेपालको राष्ट्रियता, स्वाधीनता र मौलिक पहिचान जोगाउनुपर्छः लुईटेल

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुइटेलले नेपालको राष्ट्रियता, स्वाधीनता, अखण्डता र सार्वभौमसत्ता जोगाउँदै देशलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। उनले नेपाल कुनै पनि विदेशी शक्ति वा स्वार्थको दबाबमा पर्न नहुने र देशको भविष्य नेपाली जनताले आफ्नै विवेक र क्षमताबाट निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

लुइटेलले नेपाललाई विविध जातजाति, भाषा, धर्म र संस्कृतिले भरिएको साझा फूलबारीका रूपमा व्याख्या गर्दै नेपालीको मौलिक पहिचान र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताए। उनले पूर्वराजा महेन्द्रसँग जोडिएको भनाइ उद्धृत गर्दै ‘म मरे पनि मेरो देश र जनताहरूको नेपाली हुँ भन्ने अस्तित्व बाँचिरहोस्’ भन्ने भावनालाई राष्ट्रियताको मूल आधारका रूपमा लिनुपर्ने धारणा राखे।

उनका अनुसार देश निर्माणको जिम्मेवारी नेपालीकै हो। विदेशमा अकुत सम्पत्ति थुपार्ने प्रवृत्तिको अन्त्य गर्दै नेपालीको पूँजी नेपाली बैंक तथा देशकै अर्थतन्त्रमा परिचालन गर्नुपर्ने उनले बताए। उपचारका लागि समेत अनिवार्य रूपमा विदेश धाउनुपर्ने अवस्था अन्त्य गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

लुइटेलले नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा पनि जोड दिएका छन्। उनले दौरा–सुरुवाल, कोट र टोपीजस्ता नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्नुपर्ने तथा आफ्नै धर्म, संस्कृति र परम्परालाई अझ समृद्ध बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे। नेपालको माटो र मौलिक सम्पदा आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै विदेशी संस्कृतिको अन्धानुकरणभन्दा आफ्नै पहिचानको संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए।

देशमा रहेका उद्योग तथा कलकारखानालाई बन्द वा कमजोर बनाउने होइन, थप विकास र विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए। नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी वस्तुको स्वदेशमै खपत बढाउन सके मुलुकको अर्थतन्त्र बलियो बन्ने उनको भनाइ छ। विदेशी वस्तु तथा उत्पादनमा अत्यधिक निर्भर हुँदा मुलुकको पूँजी बाहिरिने र अर्थतन्त्र परनिर्भर बन्ने भएकाले उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

विदेशी शक्तिको निर्देशनमा मात्र राज्य सञ्चालन गर्ने प्रवृत्तिको समेत उनले आलोचना गरे। कुनै विदेशी एजेन्डा वा प्रस्ताव नेपालका लागि उपयुक्त छ कि छैन भन्ने विषयमा नेपाली जनतासँग छलफल र बहस गरेर मात्रै स्वीकार गर्नुपर्ने उनको भनाइ छ। ‘विदेशीले अराएको काम गर्ने होइन, आवश्यक परे नेपालले नै आफ्ना प्राथमिकता र हितका विषयमा विदेशीलाई भन्न सक्नुपर्छ,’ लुइटेलले भने।

उनले नेपालको माटो, धर्म, संस्कृति र परम्पराप्रति सम्मान गर्दै त्यसलाई समयअनुकूल अझ समृद्ध बनाउनुपर्नेमा जोड दिए। आफ्नै मौलिकता र पहिचान बलियो भए मात्रै राष्ट्रियता बलियो हुने भन्दै उनले नेपाली समाजमा राष्ट्रिय एकता र साझा भावनालाई प्राथमिकता दिनुपर्ने बताए।

लुइटेलले राजसंस्थालाई पनि राष्ट्रिय एकताको एउटा आधारका रूपमा प्रस्तुत गरेका छन्। ‘हाम्रो राजा सबैका साझा’ भन्ने अवधारणालाई अघि सार्दै उनले राजा राष्ट्रको साझा अभिभावकको भूमिकामा रहने र राजसंस्था भए देशलाई बाह्य आक्रमणबाट समेत सुरक्षा हुने धारणा व्यक्त गरे। नेपालमा राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्तालाई बलियो बनाउन राजसंस्थाको आवश्यकता रहेको उनको दाबी छ।

उनले देशको राजनीति विदेशी प्रभावबाट मुक्त, राष्ट्रिय हितकेन्द्रित र जनउत्तरदायी हुनुपर्ने बताए। सत्ता र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियता, स्वाधीनता, आर्थिक आत्मनिर्भरता, नेपाली उत्पादन, उद्योगको विकास तथा मौलिक संस्कृति संरक्षणलाई प्राथमिकता दिन सके मात्रै समृद्ध र स्वाभिमानी नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend