काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दिपक कुँवरले मुलुकमा भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्लो आर्थिक शिथिलताजस्ता चुनौती आए पनि घरजग्गा तथा निर्माण क्षेत्रले आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आएको बताएका छन्। उनले घरजग्गा तथा निर्माण क्षेत्र मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको विकास र विस्तारका लागि उपभोक्ता तथा व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा आगामी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने घरजग्गा तथा निर्माणसम्बन्धी प्रदर्शनीबारे राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन्।
अध्यक्ष कुँवरले विभिन्न समयमा आइपरेका प्राकृतिक विपत्ति, महामारी र आर्थिक समस्याका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले अर्थतन्त्रमा आफ्नो योगदानलाई निरन्तरता दिँदै आएको बताए। उनका अनुसार घरजग्गा कारोबारसँगै निर्माण सामग्री उत्पादन, ढुवानी, फर्निचर, विद्युतीय सामग्री, बैंक तथा वित्तीय संस्था, निर्माण व्यवसाय तथा ठूलो संख्यामा श्रमशक्ति यस क्षेत्रसँग जोडिएका छन्। त्यसैले घरजग्गा तथा निर्माण क्षेत्रमा आउने उतारचढावको प्रभाव एउटा व्यवसायमा मात्र सीमित नरहने उनले बताए।
उनले प्रदर्शनीलाई घरजग्गा कारोबारको प्रवर्द्धन गर्ने माध्यमका रूपमा मात्र नहेरी निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने साझा प्लेटफर्मका रूपमा विकास गर्न खोजिएको बताए। प्रदर्शनीमा घरजग्गा तथा आवास विकास कम्पनीसँगै निर्माण सामग्री, प्रविधि, वित्तीय सेवा तथा अन्य सम्बन्धित व्यवसायको सहभागिता रहने र यसबाट उपभोक्ताले घर निर्माण तथा खरिदका विभिन्न विकल्पबारे एकै स्थानमा जानकारी प्राप्त गर्न सक्ने उनको भनाइ थियो।
अध्यक्ष कुँवरका अनुसार प्रदर्शनीमा सर्वसाधारणको आर्थिक क्षमता र आवश्यकतालाई ध्यानमा राख्दै करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पहरूसमेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछन्। तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा घर निर्माण तथा खरिद गर्न चाहने उपभोक्ताका लागि यस्ता विकल्प उपयोगी हुने उनको विश्वास छ।

उनले पछिल्लो समय घरजग्गा कारोबारमा देखिएको सुस्तताका कारण निर्माणसँग सम्बन्धित धेरै उद्योग तथा व्यवसाय प्रभावित भएको बताए। घरजग्गा तथा आवास क्षेत्रमा माग बढ्दा त्यसको प्रत्यक्ष प्रभाव निर्माण सामग्रीको उत्पादन र बिक्री, श्रमिकको रोजगारी तथा अन्य सेवा व्यवसायमा पर्ने भएकाले यस क्षेत्रलाई चलायमान बनाउनु समग्र अर्थतन्त्रलाई गतिशील बनाउने आधारसमेत भएको उनले बताए।
कुँवरले घरजग्गा तथा आवास क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए। सुरक्षित आवास, व्यवस्थित बस्ती विकास र आधुनिक निर्माण प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै घरजग्गा क्षेत्रको विकास गर्नुपर्नेमा उनले जोड दिए। व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि पनि सम्बन्धित सरकारी निकायसँग निरन्तर संवाद आवश्यक रहेको उनले बताए।
आयोजकका अनुसार असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा घरजग्गा तथा आवास क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले विभिन्न परियोजना, आवासीय विकल्प, निर्माण सामग्री तथा सम्बन्धित सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
प्रदर्शनीले घरजग्गा व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नुका साथै निर्माण क्षेत्रका नयाँ प्रविधि, सामग्री र सेवाबारे जानकारी आदानप्रदान गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ। आर्थिक शिथिलताका कारण प्रभावित बनेको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend