काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताएका छन्। घरजग्गा तथा आवास क्षेत्र चलायमान हुँदा निर्माण, बैंकिङ, उद्योग, रोजगारी तथा उपभोगका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भएकाले यस क्षेत्रको विकास र विस्तारका लागि सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा आगामी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने घरजग्गा तथा निर्माणसम्बन्धी प्रदर्शनीबारे राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले यस्तो बताएका हुन्।
अध्यक्ष घिमिरेले पछिल्लो समय घरजग्गा तथा आवास क्षेत्रमा देखिएको सुस्तताले समग्र आर्थिक गतिविधिमा समेत प्रभाव पारेको बताए। घर निर्माण तथा आवास विकाससँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका निर्माण सामग्री उद्योग, बैंक तथा वित्तीय संस्था, फर्निचर, विद्युतीय सामग्री, श्रमिक तथा विभिन्न सेवा व्यवसायमा घरजग्गा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई व्यवस्थित र गतिशील बनाउन आवश्यक नीतिगत वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले घरजग्गा व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य हुनुपर्ने बताए। व्यवसायीले व्यावसायिक गतिविधि विस्तार गर्न पाउने वातावरणसँगै सरकारले पनि सुरक्षित, व्यवस्थित र वैज्ञानिक आवास विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। अनियन्त्रित सहरीकरण र अव्यवस्थित बस्ती विकासलाई निरुत्साहित गर्दै योजनाबद्ध रूपमा आवास तथा बस्ती विकास गर्नुपर्ने उनले बताए।

अध्यक्ष घिमिरेले आगामी असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीलाई घरजग्गा तथा आवास क्षेत्रका व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइएको बताए। प्रदर्शनीमा आवास तथा घरजग्गासँग सम्बन्धित विभिन्न कम्पनी, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक तथा आपूर्तिकर्ता, वित्तीय संस्था र सेवा प्रदायकको सहभागिता रहने उनले जानकारी दिए।
प्रदर्शनीले सर्वसाधारणलाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय आवासका विकल्पबारे जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ। साथै निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, आधुनिक निर्माण सामग्री, आवास डिजाइन तथा घर निर्माणसँग सम्बन्धित विभिन्न सेवाबारे समेत उपभोक्ताले एकै स्थानबाट जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।
घिमिरेले घरजग्गा तथा आवास क्षेत्रको विकासलाई केवल जग्गा कारोबारका रूपमा बुझ्न नहुने बताए। यो क्षेत्रसँग ठूलो संख्यामा उद्योग, व्यवसाय तथा रोजगारी जोडिएको उल्लेख गर्दै उनले घरजग्गा कारोबारमा सुधार आउँदा त्यसको प्रभाव समग्र आर्थिक गतिविधिमा पर्ने धारणा राखे। यस क्षेत्रलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
उनले प्रदर्शनीलाई सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, निर्माण व्यवसायी, सञ्चारमाध्यम, उपभोक्ता तथा सम्पूर्ण सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह गरे। प्रदर्शनीले घरजग्गा तथा आवास क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे बहस सिर्जना गर्नुका साथै व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा घरजग्गा तथा आवास विकाससँग सम्बन्धित विविध पक्षलाई समेटिने आयोजकले जनाएको छ। पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुस्तताका कारण प्रभावित बनेको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन प्रदर्शनीले समेत सकारात्मक भूमिका खेल्ने आयोजकको विश्वास छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend