बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभरको मौसममा बदली र वर्षाको गतिविधि बढेको हो ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस प्रदेशका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका धेरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend