बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार, बाँकीको खोजी जारी

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार, बाँकीको खोजी जारी

नुवाकोट । लामो समयदेखि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई उद्धार टोलीले जीवितै बाहिर निकालेको छ। सुरुङभित्रबाट आएको आवाजले आशा जगाएको केही समयमै उद्धार टोलीले दुई जनालाई सकुशल बाहिर निकाल्न सफल भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहसहित दुई जनाको जीवित उद्धार गरिएको हो। जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् ।

उद्धारअघि सुरुङभित्र रहेका व्यक्तिहरू र बाहिर खटिएको उद्धार टोलीबीच दोहोरो संवादसमेत भएको थियो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ढाडस दिँदै “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेर आवाज दिएको थियो। त्यसको जवाफमा सुरुङभित्रबाट “हुन्छ” भन्ने स्पष्ट प्रतिक्रिया आएपछि उद्धारमा खटिएका टोलीमा थप उत्साह पैदा भएको थियो।

जीवित व्यक्तिसँग सम्पर्क स्थापित भएपछि उद्धार टोलीले सुरुङभित्रको अवस्था बुझ्दै उद्धार अभियानलाई थप तीव्र बनाएको थियो। त्यसैक्रममा दुई जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो।

सांसद न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू हुनसक्ने भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल बाहिर निकाल्ने प्रयास भइरहेको छ।

विपद्को अँध्यारोबीच सुरुङभित्रबाट आएको “हुन्छ” भन्ने आवाज र त्यसपछि भएको दुई जनाको जीवित उद्धारले आफन्त तथा शुभेच्छुकमा आशा जगाएको छ। अब उद्धार टोलीको प्राथमिकता सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउँदै उनीहरूलाई पनि सकुशल बाहिर निकाल्नु बनेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend