बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एनडिपीको दोस्रो साधारणसभा सम्पन्न

एनडिपीको दोस्रो साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि १५ लाख ५७ हजार तीन सय ४३ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनी गाभ्ने वा किन्ने अधिकार सञ्चालक समितिलाई दिने निर्णयसमेत भएको छ । प्रबन्धपत्र संशोधन गर्दै एनडिपीले अब परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर, विदेशी लगानीकर्ता लक्षित वित्तीय उपकरण जारी गर्न सक्नेछ भने ग्रिन क्लाइमेट फण्ड र ब्लेण्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट सहयोग लिन सक्नेछ ।

जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि छुट्याउने व्यवस्थासमेत पारित भएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सात करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको एनडिपीको कुल चुक्ता पुँजी एक अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

सो अवसरमा अध्यक्ष ढकालले एनडिपी स्थापना भएको लामो समयपछि मात्र सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अघि बढाएको भन्दै स्वदेशी पुँजीबाटै ठूला पूर्वाधारमा लगानी जुटाउने र युवाहरूलाई स्वदेशमै लगानी तथा रोजगारीको अवसर दिने उद्देश्यले कम्पनी स्थापना गरिएको बताउनुभयो ।

मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी संकलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्त्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने उहाँको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend