काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले भदौ १० गते बुधबार बिहान आएको उक्त विनाशकारी बाढीबाट मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको उल्लेख गर्दै घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको महासंघका अध्यक्ष निकोलस पाण्डेद्वारा जारी विशेष अपिलमा उल्लेख छ।
महासंघले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा उपचारका लागि नेपाल सरकारका विभिन्न निकायले गरिरहेको प्रयासमा आवश्यक जस्तोसुकै सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ। बाढीपीडितका लागि निर्माण व्यवसायी कोषमार्फत छिट्टै राहत घोषणा गरिने पनि महासंघले जानकारी दिएको छ।
वर्तमान विषम परिस्थितिमा शोकलाई शक्तिमा बदल्दै विशेष सावधानी, संयमता र धैर्यका साथ आपसी सहयोगमा जुट्न महासंघले सबैमा आग्रह गरेको छ। विशेष गरी विपद्प्रभावित क्षेत्रमा रहेका निर्माण श्रमिक, मजदुर तथा अन्य नागरिकको खोज तथा उद्धारमा आफ्ना यन्त्र, उपकरण र जनशक्तिसहित सक्रिय हुन देशभरका निर्माण व्यवसायीलाई महासंघले विशेष अपिल गरेको छ।
महासंघले यस्तो महाविपद्को सामना कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गरेको छ। प्रभावित हजारौं नागरिकप्रतिको सच्चा सम्मान तथा राष्ट्रिय एकताको परिचय दिन उद्धार र राहत कार्यलाई तीव्र बनाउन सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था र आम नागरिकलाई एकजुट हुन पनि महासंघले हार्दिक अनुरोध गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले प्राकृतिक विपत्तिको यस घडीमा सबै पक्षबीच समन्वय, सहकार्य र एकता आवश्यक रहेको बताउँदै प्रभावित नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend