काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा मुक्तिनाथको दर्शन तथा जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेपछि नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटनले अन्तर्राष्ट्रियस्तरमा थप प्रचार पाएको पर्यटन व्यवसायीहरूको भनाइ छ। यस्ता उच्चस्तरीय भ्रमणले होटल तथा पर्यटन व्यवसाय मात्र नभई स्थानीय अर्थतन्त्रका विभिन्न क्षेत्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाउने वरिष्ठ पर्यटन व्यवसायी टेक पुनमगरले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पुनमगरले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ र जानकी मन्दिर भ्रमणबाट स्थानीय होटल, रेस्टुरेन्ट, यातायात व्यवसायी, पर्यटक गाइड, पसल तथा स्थानीय उत्पादन बिक्री गर्ने व्यवसायी हुँदै हजारौँ स्थानीय नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पाएको उल्लेख गरेका छन्।
उनका अनुसार जनकपुरमा मोदीको धार्मिक भ्रमणपछि पर्यटकीय चासो र आगमन बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको अनुभव गर्न सकिन्छ। एउटा प्रभावशाली व्यक्तिको धार्मिक वा पर्यटकीय भ्रमणले सम्बन्धित गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ।
पुनमगरले पर्यटनलाई केवल होटल व्यवसायसँग जोडेर हेर्न नहुने बताउँदै एउटा पर्यटकको आगमनसँगै अर्थतन्त्रका धेरै क्षेत्र चलायमान हुने बताएका छन्। उनका अनुसार पर्यटक होटलमा बस्छ, स्थानीय रेस्टुरेन्टमा खाना खान्छ, यातायात सेवा प्रयोग गर्छ, गाइड लिन्छ र स्थानीय उत्पादन तथा स्मरणीय सामग्री खरिद गर्छ। यसरी एउटा पर्यटकले खर्च गरेको रकम एउटा व्यक्ति वा व्यवसायमा मात्र सीमित नहुने र धेरै परिवार तथा व्यवसायसम्म पुग्ने गर्दछ।
“त्यसैले पर्यटनलाई रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा बुझ्नुपर्छ,” उनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।
नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका हिसाबले विश्वकै सम्भावनायुक्त मुलुकमध्ये एक भए पनि यसको पर्याप्त प्रचार–प्रसार र प्रवर्द्धन हुन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ। प्रधानमन्त्री तथा राजनीतिक नेतृत्वले देशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यको भ्रमण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके त्यसले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने पुनमगरको विश्वास छ।
उनले वर्तमान प्रधानमन्त्री बालेन शाहलाई मात्र नभई भविष्यमा जुनसुकै राजनीतिक दलबाट प्रधानमन्त्री बने पनि नेपालको पर्यटन सम्भावना बोकेका गन्तव्यको यसरी नै प्रचार र प्रवर्द्धन गर्न आग्रह गरेका छन्। राजनीतिक नेतृत्व स्वयं पर्यटकीय गन्तव्यसम्म पुग्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान आकर्षित गर्ने र पर्यटकलाई समेत नयाँ गन्तव्यप्रति उत्साहित बनाउने उनको धारणा छ।
“पर्यटनको सम्भावना बोकेका स्थानको प्रभावकारी प्रवर्द्धन गर्न सकियो भने लाखौँ बेरोजगार युवाका लागि रोजगारी सिर्जना गर्न सकिन्छ,” पुनमगरले भनेका छन्।
यसै क्रममा उनले प्रधानमन्त्री बालेन शाहलाई नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटनमा पनि एकपटक पुग्न हार्दिक तथा विनम्र अनुरोध गरेका छन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता, स्थानीय संस्कृति तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको ढोरपाटनलाई राष्ट्रिय प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उनको माग छ।
वरिष्ठ पर्यटन व्यवसायी पुनमगरको भनाइले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ—नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्वले देशभित्र रहेका पर्यटकीय गन्तव्यको प्रचारमा कति प्राथमिकता दिएका छन् ? विश्वका धेरै देशमा राष्ट्रप्रमुख तथा सरकार प्रमुख स्वयं पर्यटकीय गन्तव्यको ब्रान्ड एम्बेसडरझैँ प्रस्तुत हुने गरेका छन्। नेपालमा पनि यस्तो अभ्यासलाई प्राथमिकता दिन सके पर्यटन क्षेत्रले नयाँ गति लिन सक्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।
नेपालमा बेरोजगारी बढ्दो चिन्ताको विषय बनिरहेका बेला पर्यटनलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न सके होटल, होमस्टे, यातायात, कृषि, हस्तकला, स्थानीय उत्पादन तथा सेवा क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्। ढोरपाटनजस्ता सम्भावनायुक्त गन्तव्यको प्रचार, पूर्वाधार विकास र सहज पहुँच विस्तार गर्न सके पर्यटन स्थानीय समृद्धिको बलियो आधार बन्न सक्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend