बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एमएडब्लू वृद्धिले ल्यायो दिपल निभो क्यू ०५, नाडा अटो शोमा विशेष मूल्य

एमएडब्लू वृद्धिले ल्यायो दिपल निभो क्यू ०५, नाडा अटो शोमा विशेष मूल्य

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको प्रतिस्पर्धा तीव्र बन्दै गएको बेला एमएडब्लू वृद्धिले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी अल–न्यु दिपल निभो क्यू ०५ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, फराकिलो क्याबिन र उन्नत प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरिएको यो गाडीले नेपाली ईभी बजारमा नयाँ विकल्प थपेको कम्पनीले जनाएको छ।

काठमाडौंमा आयोजित एक समारोहबीच क्यू ०५ सार्वजनिक गरिएको हो। कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायतको उपस्थिति थियो।

कम्पनीले क्यू ०५ का दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ। म्याक्स भेरियन्टको प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो विशेष मूल्य नाडा अटो शो अवधिभरका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। त्यसपछि म्याक्सको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ।

कम्प्याक्ट एसयूभी भए पनि क्यू ०५ को भित्री ठाउँलाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ। २,७३५ मिलिमिटर लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगका कारण यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीको दाबी छ। पछाडिको सिटमा तीन जना वयस्क यात्रु सहज रूपमा बस्न सक्ने व्यवस्था गरिएको छ।

पछाडिको सिटलाई २८ र ३३ डिग्रीको दुई कोणमा रिक्लाइन गर्न मिल्नेछ भने सिटमा नौ तहको एर्गोनोमिक संरचना प्रयोग गरिएको छ। सामान राख्नका लागि ५४० लिटर क्षमताको डुअल–लेभल बुट र थप ९० लिटरको लुकेको स्टोरेज उपलब्ध छ। क्याबिनभित्र २९ वटासम्म स्टोरेज स्पेस राखिएको कम्पनीले जनाएको छ।

यात्रालाई थप शान्त र आरामदायी बनाउन गाडीमा ६७ भन्दा बढी ध्वनि इन्सुलेसन तथा आवाज न्यूनीकरण बिन्दु प्रयोग गरिएको छ। भेरियन्टअनुसार पावर सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफसमेत उपलब्ध हुनेछ।

डिजाइनका हिसाबले क्यू ०५ लाई चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जेसियोराको नेतृत्वमा विकास गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञको योगदान रहेको बताइएको छ।

फुगुआङ डिजाइन दर्शनमा आधारित क्यू ०५ मा एरोडाइनामिक बडी प्रोफाइल र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्ट रहेको छ। सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड विजेता यो मोडलमा डिजिटल विङ २.० फुल–विथ लाइटिङ, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट तथा सेमी–हिडन डोर ह्यान्डल जस्ता विशेषता समावेश छन्।

प्रविधितर्फ क्यू ०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ। ३सी फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा करिब १५ मिनेटमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

गाडीमा रहेको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्ने बताइएको छ। डब्लूएलटीपी परीक्षणअनुसार यसले एक पटकको पूर्ण चार्जमा ४०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ भने ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट–घण्टा रहेको कम्पनीले जनाएको छ।

बढ्दो विद्युतीय सवारीको बजारमा दिपल निभो क्यू ०५ ले मूल्य, रेन्ज, प्रविधि र फराकिलो क्याबिनको संयोजनमार्फत नेपाली ग्राहकलाई आकर्षित गर्ने एमएडब्लू वृद्धिको अपेक्षा छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend