काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको दाबी गर्दै प्रवासमा रहेका नेपालीलाई स्वदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने गरी नीतिगत सुधार गरिरहेको बताए।
वाग्लेले चालु बजेटलाई मुलुकको आर्थिक दिशा परिवर्तन गर्ने आधारका रूपमा अघि सारिएको उल्लेख गरे। सरकारले तय गरेको पाँचवर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको आधार तयार गर्ने, दोस्रो र तेस्रो वर्ष सुधारलाई तीव्रता दिने तथा अन्तिम दुई वर्ष त्यसबाट प्राप्त प्रतिफल नागरिकसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए।
उनका अनुसार सरकारले स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने नीतिगत रणनीति अघि बढाइरहेको छ। बदलिँदो विश्व अर्थतन्त्रसँगै नेपालमा प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना बढाउन सरकार केन्द्रित रहेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि सम्भावनायुक्त क्षेत्र पहिचान गर्दै प्रवासी नेपालीलाई दीर्घकालीन लगानीका लागि प्रोत्साहित गरे। विशेषगरी पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्न सक्ने उद्योगमा लगानी गर्न उनले आग्रह गरे।
विदेशमा रहेका नेपालीको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्न सके त्यसले स्वदेशमा रोजगारी सिर्जना गर्नुका साथै उत्पादन र लगानी विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
सरकारले लगानीकर्तालाई सहज हुने वातावरण निर्माणका लागि नीतिगत तथा संरचनागत सुधार अघि बढाइरहेको उल्लेख गर्दै वाग्लेले प्रवासी नेपालीलाई नेपालमा लगानीका लागि विश्वस्त हुन आग्रह गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend