काठमाडौं । होटल व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित बालाजु होटल व्यवसायी संघले खाद्य स्वच्छता तथा सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरसंवाद तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
संघको आयोजनामा २०८३ श्रावण २९ गते शुक्रबार बसन्तनगरस्थित माछापोखरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संघमा आबद्ध करिब ९० जना होटल व्यवसायी, सञ्चालक तथा कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक सहयोगमा खाद्य अनुसन्धान अधिकृत पूर्ण प्रसाद पौडेलले खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा गुणस्तर कायम गर्ने विषयमा प्रशिक्षण दिएका थिए। होटल तथा खाद्य व्यवसायमा स्वच्छता र गुणस्तर कायम गर्न अपनाउनुपर्ने सावधानी, खाद्य पदार्थको सुरक्षित व्यवस्थापन तथा उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा उनले सहभागीलाई जानकारी गराएका थिए।
यस्तै, सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा प्रशासकीय अधिकृत ऋषिराम पाण्डेले सामाजिक सुरक्षा कोषका व्यवस्था, सुविधा तथा होटल व्यवसायी र कर्मचारीका लागि यसको महत्वबारे जानकारी दिएका थिए। अन्तरसंवादका क्रममा सामाजिक सुरक्षा योजनामा कर्मचारीको सहभागिता, प्राप्त हुने सुविधा तथा व्यवसायीको दायित्वबारे सहभागीले जिज्ञासा राखेका थिए।

कार्यक्रम संघका अध्यक्ष सूर्य बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको थियो। महासचिव लेखनाथ खरालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कोक बहादुर रसायलीले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य शैलेन्द्र विक्रम थापा, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल तथा संघका प्रमुख सल्लाहकार टीका बहादुर रायमाझीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले होटल व्यवसायको विस्तारसँगै खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले होटल व्यवसायीले उपभोक्ताप्रति जिम्मेवार बन्नुका साथै आफ्ना कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ पनि विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।
बालाजु होटल व्यवसायी संघले यस्ता तालिम तथा अन्तरसंवादले होटल व्यवसायमा व्यावसायिकता बढाउनुका साथै खाद्य सुरक्षा, गुणस्तर र श्रमिकको सामाजिक सुरक्षासम्बन्धी चेतना विस्तार गर्न सहयोग पुग्ने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend