काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि बुधबार स्वदेश फर्किने भएका छन्। देउवाको स्वागतका लागि कांग्रेसको एक समूहले काठमाडौंमा भव्य कार्यक्रमको तयारी थालेको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवाको स्वागत कार्यक्रमको तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए। उनका अनुसार देउवा साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
देउवाको स्वागतका लागि विमानस्थलमा करिब ५ देखि ७ हजार नेता तथा कार्यकर्ता सहभागी हुने आयोजक पक्षको अनुमान छ। स्वागत कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मंगलबार दिउँसो २ बजे राष्ट्रिय भेला आयोजक समितिको बैठकसमेत बोलाइएको छ।
स्वास्थ्य उपचारका लागि फागुन १३ गते सिंगापुर गएका देउवा राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा काठमाडौं फर्किन लागेका हुन्। लामो समयपछि उनको स्वदेश आगमनलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी सर्वोच्च अदालतबाट आधिकारिकता विवादसम्बन्धी मुद्दामा निस्सा पाएपछि देउवा–शशांक समूह उत्साहित बनेको छ। अदालतको पछिल्लो प्रक्रियासँगै कांग्रेसभित्रको शक्ति समीकरण र आगामी राजनीतिक गतिविधिबारे पनि चासो बढेको छ।
देउवाको स्वागत कार्यक्रमलाई सोही समूहले आफ्नो शक्ति प्रदर्शनका रूपमा समेत अघि बढाउने तयारी गरेको देखिएको छ। ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी गराउने तयारीसँगै राष्ट्रिय भेलाको तयारीसमेत तीव्र पारिएको छ।
यता कांग्रेसको संस्थापन पक्ष भने पार्टीको महाधिवेशन तयारीमा केन्द्रित छ। पार्टीभित्रको आन्तरिक विवाद, आधिकारिकताको प्रश्न र महाधिवेशनको तयारीबीच देउवाको स्वदेश फिर्तीलाई कांग्रेसको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend