काठमाडौँ । प्रजातान्त्रिक पार्टी नेपालले आगामी साउन २५ गते काठमाडौँको नयाँ बानेश्वरस्थित महादेवस्थान परिसरबाट आराध्यदेव पशुपतिनाथको बोलबम यात्रामा सहभागी हुने भएको छ।
पार्टीका अध्यक्ष तारानाथ लुइटेलले धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित बोलबम यात्रामा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्।
पार्टीद्वारा जारी निमन्त्रणाअनुसार साउन २५ गते बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित महादेवस्थान परिसरमा भेला भएर बोलबम यात्रामा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ। विभिन्न धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव कायम गर्दै नेपाली समाजमा एकताको सन्देश प्रवाह गर्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष लुइटेलको भनाइ छ।
पार्टीले कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई निर्धारित समयमै महादेवस्थान परिसरमा उपस्थित हुन आग्रह गरेको छ। अध्यक्ष लुइटेलका अनुसार बोलबम यात्रा धार्मिक आस्था र संस्कृतिसँग जोडिएको कार्यक्रम मात्र नभई सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना बलियो बनाउने अवसरसमेत हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend