काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) नेपालको केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा महासचिव पदका उम्मेदवार अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. बिमल) ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। खबर ब्रेकिंगसँगको विशेष कुराकानीमा उनले संगठनलाई समयसापेक्ष, सशक्त र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत र विश्वासको अपिल गरेका छन्।
भदौ १९ र २० गते बुटवलमा हुने DLA नेपालको केन्द्रीय महाधिवेशनलाई संगठनको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै उम्मेदवार पौडेलले पेशागत मर्यादा, संगठनात्मक सुदृढीकरण र कानुनी क्षेत्रको उन्नयन आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए।
उनले DLA नेपाललाई अझ एकताबद्ध, प्रभावकारी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै महासचिवको जिम्मेवारी पाए संगठनलाई पारदर्शी, जवाफदेही र सदस्यमुखी बनाउने बताए।
पौडेलका अनुसार अधिवक्ताहरूको पेशागत सम्मान र आचारसंहिताको संरक्षण आजको आवश्यकता हो। त्यसका लागि संस्थागत पहललाई प्रभावकारी बनाइने, अधिवक्ताहरूको हकहित र कल्याणका विषयमा सशक्त आवाज उठाइने तथा कानुनी क्षेत्रको सुधारका लागि नीतिगत पैरवीलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।
युवा अधिवक्ताहरूलाई अवसर, क्षमता विकास र नेतृत्वमा अघि बढाउने योजना प्रस्तुत गर्दै उनले नयाँ पुस्तालाई संगठनसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने बताए। साथै संगठनका सबै गतिविधिलाई प्रविधिमैत्री बनाउँदै सूचना प्रवाह, अभिलेखीकरण र प्रशासनिक प्रणालीलाई थप आधुनिक बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।
“पेशागत मर्यादा, संगठनात्मक सुदृढीकरण र कानुनी क्षेत्रको उन्नयन हाम्रो प्रतिबद्धता हो। सशक्त DLA, मर्यादित पेशा र विश्वसनीय नेतृत्व निर्माणका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मत र विश्वासको अपेक्षा गरेको छु,” उनले खबर ब्रेकिंगसँग भने।
उनले संगठनभित्रको एकतालाई अझ मजबुत बनाउँदै सबै तहका अधिवक्ताको साझा संस्था निर्माणमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। महासचिव पद व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि संगठनलाई सुदृढ बनाउने जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबै प्रतिनिधिलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) नेपालको केन्द्रीय महाधिवेशन भदौ १९ र २० गते बुटवलमा हुँदैछ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। त्यसैक्रममा महासचिव पदका उम्मेदवार अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. बिमल) ले संगठनको सुदृढीकरण, अधिवक्ताको पेशागत सम्मान र कानुनी क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend