काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनहरूमा देखिएको सामाजिक तथा धार्मिक तनावप्रति चिन्ता व्यक्त गर्दै नेपाली समाजको मौलिक पहिचान जोगाउन सबै पक्षलाई संयमता र सहिष्णुता अपनाउन आग्रह गरेका छन्।
बिहीबार जारी गरेको सद्भाव सन्देशमा उनले नेपाल हजारौँ वर्षदेखि विभिन्न जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरूबीचको सहअस्तित्व, आपसी विश्वास र मेलमिलापको साझा भूमि रहेको उल्लेख गरेका छन्। यही विविधताले नेपाललाई विश्वसामु विशिष्ट पहिचान दिलाएको भन्दै यसलाई कुनै पनि कारणले कमजोर हुन दिन नहुने उनको भनाइ छ।
पूर्वराजा शाहले नेपाली समाजमा विद्यमान धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र आस्थाप्रति सम्मान कायम राख्नु नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गरेका छन्। उनले यी मौलिक विशेषतामाथि कुनै पनि प्रकारको आघात पुग्नु मुलुकको दीर्घकालीन हितका लागि उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।
सन्देशमा केही दिनअघि सुनसरीका विभिन्न गाउँबस्तीमा भएको आपसी विवादका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र हुँदै तराईका अन्य जिल्लासम्म फैलिएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। उनले यस्ता घटनाले नेपाली समाजको सहिष्णु र सद्भावपूर्ण चरित्रलाई कमजोर बनाउने भन्दै सबैलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन्।
नेपाललाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको उदाहरणका रूपमा चिनाउँदै पूर्वराजा शाहले देशका जुनसुकै भूभागमा बसोबास गर्ने नागरिकबीच आपसी विश्वास, मेलमिलाप र सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले वर्तमान परिस्थितिमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र संयमता नै सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा विभाजनकारी गतिविधिबाट टाढा रहन र शान्तिपूर्ण सहअस्तित्वलाई बलियो बनाउन सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend