सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुराभन्दा कामको एजेन्डासहित मैदानमा पशुपति कंडेल, ठमेल परिषद्को महासचिवमा उम्मेदवारी घोषणा

कुराभन्दा कामको एजेन्डासहित मैदानमा पशुपति कंडेल, ठमेल परिषद्को महासचिवमा उम्मेदवारी घोषणा

काठमाडौं । ठमेलको पर्यटन, व्यवसाय र व्यवस्थापनलाई नयाँ गति दिने प्रतिबद्धतासहित युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेल ठमेल पर्यटन विकास परिषद्को महासचिव पदको चुनावी मैदानमा उत्रिएका छन्। आगामी असार २७ गते हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै उनले “संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व” लाई आफ्नो चुनावी मूल नारा बनाएका छन्।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका कंडेलले काठमाडौंलाई आफ्नो कर्मभूमि बनाउँदै विगत लामो समयदेखि पर्यटन व्यवसायसँगै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनी ठमेलस्थित आगन्तुक होटल तथा अतिथि होटल एन्ड अपार्टमेन्टका सञ्चालक हुन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई समान रूपमा अघि बढाउँदै आएका कंडेल अहिले ठमेलको साझा नेतृत्वका लागि व्यवसायीहरूमाझ पुगेका छन्।

लायन्स क्लब, विभिन्न सामाजिक संस्था तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका कंडेल आफूलाई परिणाममुखी र कार्यसम्पादनमा विश्वास गर्ने व्यक्तित्वका रूपमा प्रस्तुत गर्छन्। नियमित रक्तदान अभियानदेखि विभिन्न सामाजिक सेवामूलक कार्यक्रमसम्म उनको सक्रिय सहभागिताले उनी व्यवसायी मात्र नभई समाजप्रति उत्तरदायी नेतृत्वका रूपमा परिचित छन्।

महासचिव पदका उम्मेदवार कंडेलले यसपटक केवल नारामै सीमित नभई ठमेलको समग्र विकासका लागि स्पष्ट १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। उनका अनुसार ठमेललाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा अझ प्रभावशाली बनाउँदै यसको पहिचान र गौरवलाई सुदृढ गर्नु पहिलो प्राथमिकता हुनेछ। त्यससँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई संस्थागत रूपमा अघि बढाइने उनले बताएका छन्।

उनको योजनामा विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा ठमेलको दीगो विकास, ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण तथा ‘सम्पदा भ्रमण’ अवधारणाको विकास पनि समेटिएको छ। घरधनी र व्यवसायीबीचको विश्वास अभिवृद्धि गर्दै सहकार्यको वातावरण निर्माण गर्नु, पर्यटनमैत्री व्यवस्थापनलाई बलियो बनाउनु तथा सबै पक्षलाई एउटै साझा उद्देश्यमा जोड्नु उनको अर्को प्राथमिकता रहेको छ।

सुरक्षा र पूर्वाधार सुधारलाई विशेष महत्व दिएका कंडेलले ठमेलमा प्रभावकारी शान्ति–सुरक्षा व्यवस्था, पर्याप्त सडक बत्ती, आधुनिक सीसी क्यामेरा, व्यवस्थित ढल निकास तथा सडक बालबालिकाको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी गृह मन्त्रालयबाट स्वीकृत पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन, रोकिएका गुरुयोजनाहरूलाई पुनः अघि बढाउने तथा ठमेलका सडकहरूको नम्बरिङ कार्यलाई पूर्णता दिने योजना पनि उनले अघि सारेका छन्।

प्रविधिमैत्री ठमेल निर्माणलाई आफ्नो विशेष एजेन्डा बनाएका कंडेलले ‘डिजिटल ठमेल’ अभियान अन्तर्गत निःशुल्क वाइफाइ सेवा, पर्यटकमैत्री सूचना केन्द्र, वाकिङ–फ्रेन्ड्ली सडक र आधुनिक सूचना प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार बदलिँदो विश्व पर्यटन बजारसँग प्रतिस्पर्धा गर्न ठमेललाई पनि प्रविधिसँग जोड्नैपर्छ।

उम्मेदवारी घोषणा गर्दै कंडेलले ठमेललाई केवल व्यापारिक क्षेत्रका रूपमा नभई नेपालको पर्यटन पहिचानका रूपमा व्याख्या गरे। उनले भने, ठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, यो हाम्रो साझा पहिचान हो। यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो। मेरो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो। म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।”

निर्वाचनको मिति नजिकिँदै जाँदा परिषद्को नेतृत्वका लागि प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ। स्पष्ट कार्ययोजना, व्यवसायिक अनुभव, सामाजिक सक्रियता र परिणाममुखी नेतृत्वको प्रतिबद्धतासहित मैदानमा उत्रिएका पशुपति कंडेलले महासचिव पदका लागि आफूलाई सक्षम र जिम्मेवार उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। अब ठमेलका व्यवसायी र घरधनीले उनको दृष्टिकोण र योजनालाई कत्तिको विश्वास गर्छन् भन्ने निर्णय आगामी असार २७ गते हुने निर्वाचनले गर्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend